मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता

  • ८ फाल्गुन २०७५, बुधबार
  • 2077 पटक पढिएको

सिजन रोका
बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो । ७ वटा स्वर्ण पदक जितेको डनिङ आवासीय मावि बाबियाचौर दोस्रो र ४ वटा स्वर्ण पदक जितेको दिपशिखा मावि तेस्रो स्थानमा छन् ।

छात्र भलिबलको फाइनलमा शिशुकल्याण मावि अर्मन र मंगला मावि बाबियाचौर तथा छात्राको फाइनलमा महेन्द्ररत्न मावि बरंजा र सिद्धशान्ति मावि हिदी पुगेका छन् । कवड्डीको फाइनलमा छात्रातर्फ डनीङ आवासीय मावि र महेन्द्ररत्न मावि तथा छात्रतर्फ महेन्द्ररत्न मावि र मंगला मावि पुगेका छन् । तीन हजार मिटरको दौड, कवड्डी र भलिबलको फाइनल बिहीबार हुने भएको छ । डनिङ आवासीय माविलाई कक्षा ९ का यामबहादुर थापा एक्लैले चार वटा स्वर्ण र एक वटा रजत पदक दिलाएका छन् ।

एक सय मिटर, चार सय मिटर दौड, १६०० मिटरको रिले र लङ जम्पमा स्वर्ण पदक जितेका थापाले हाईजम्पमा रजत पदक दिलाएका छन् । मंगला गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समितिको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा ८ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।प्रतियोगिताको बिजेतालाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस हजार र बिस हजार रुपैयाँ प्रदान गरिने भएको छ ।