मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु (फोटो फिचर)

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 2532 पटक पढिएको

सन्तोष गौतम
बाबियाचौर ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगलबारदेखि अन्तर मावि छात्रछात्रा स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र पालिका स्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो ।

६९ औ प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा जिसस प्रमुख केसीले देशलाई चिनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । खेल क्षेत्रको विकासका लागि खेलाडीहरुलाई प्रशिक्षण र तालिमको व्यवस्था मिलाउनुपर्ने उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्वास्थ्य र अनुशासनका लागि खेलकुदको महत्व रहेको बताउनुभयो । खेलकुदलाई मर्यादीत र व्यवस्थित तथा व्यवसायिक बनाउनुपर्ने प्रजिअ अधिकारीको भनाई थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले संघीयताको कार्यान्वयनसँगै खेलकुदको विकासका लागि स्थानीय तहहरुले पनि राष्ट्रपति रनिङ्ग लगायत प्रतियोगिता आयोजना र खेल पूर्वाधारमा प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा मंगला गाउँपालिकाको २ नम्बर वडा बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती र मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कडेलले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय स्तरका खेल प्रतिभाको पहिचान र उनिहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गर्नुभएका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेतालाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस हजार र बिस हजार रुपैयाँ प्रदान गरिने उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले एक लाख रुपैयाँ बजेट पठाएको छ भने बाँकी गाउँपालिकाले व्यवस्थापन गरेको उपाध्यक्ष केसीले बताउनुभयो । प्रतियोगितामा मंगला गाउँपालिकामा सञ्चालित ८ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । उद्घाटनका क्रममा खेलाइएको १५०० मिटरको दौडको छात्रछात्रा तर्फको उपाधि दिपशिखा माविले जितेको छ । छात्रतर्फ दिपशिखा मावि कुहुँका मनबहादुर किसान प्रथम, मंगला मावि बाबियाचौरका सुसन दर्जी दृतीय र महेन्द्ररत्न मावि बरंजाका हरिचन्द्र रोका तृतीय भएका छन् ।


छात्रातर्फ दिपशिखाकी एञ्जिला खत्री प्रथम, मंगलाकी मिना गिरि दृतीय र त्रिभुवन मंगला मावि ¥यालेखोरकी अृमता खत्री तृतीय भएका छन् । एक सय मिटरको छात्र छात्रा दौडमा भने डनीङ आवासीय मावि बाबियाचौर बिजयी भएको छ ।

प्रतियोगिता उद्घाटन समारोहको सञ्चालन गाउँपालिकाको शिक्षा शाखाका संयोजक डेगबहादुर बानियाले गर्नुभएको थियो । उद्घाटन समारोहअघि झाँकी र बाजागाजा सहित बाबियाचौर बजार परिक्रमा गरिएको थियो । भबिलब र कवड्डी मंगला मावि तथा एथलेटिक्सका खेल हाँडेभिर स्थित खेलमैदानमा सञ्चालन गरिने भएको छ ।