भारतको नयाँ दिल्लीमा उपचारत शियानालाई थप सहयोग आवश्यक

  • ७ फाल्गुन २०७५, मंगलवार
  • धिरन खत्री
  • 2380 पटक पढिएको


म्याग्दी, ७ फागुन । भारतको नयाँदिल्लीमा रहेको सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी बालिका शियाना पुनको थप उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो ।


९ महिनाकी शियानाको कलेजोमा समस्या देखिपछि ओमकुमारी शान्ति कोषको तर्फबाट कलेजो तथा केही रकम उपलब्ध र शियानाको परिवारले ३० लाख जुटाएर कलेजो प्रत्यारोपण गरिएको थियो । संकलन भएको रकम कलेजो प्रत्यारोपण र औषधी उपचारमा सकिएपछि अस्पतालमा थप उपचारका लागि आर्थिक समस्या परेको हो । थप उपचारका लागि दुई महिना अझै अस्पतालमा बस्नुपर्ने र सो उपचारका लागि झन्डै १८ लाख खर्च आवश्यक देखिएकाले ओमकुमारी शान्ति कोषले आर्थिक सहयोगको अभियान सञ्चालन गरेको शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए । अपरेशनपछि उनी उच्च सुरक्षामा रहेकी छन् । स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको छ ।

 

उनको कलेजो प्रत्यारोपणपछि २ महिना अस्पताल बस्नुपर्ने र निरन्तर औषधि प्रयोगको लागि रकम अपुग भएको हो । शियानाकी आमाले भनिन–“ओमकुमारी शान्तिको कोषको कारण छोरीले कलेजो पाईन, थुप्रै दानविरहरुको सहयोगले उपचारमा सहयोग भयो र छोरीले नयाँ जीवन पाएकी छिन् तर उनको पूर्ण उपचारका लागि अझ थुप्रै रकम आवश्यक परेको छ ।”

अप्रेशनमा अपुग र थप उपचारका लागि १८ लाख आवश्यक देखिएको कोषका संस्थापक अध्यक्ष चन्दकुमार केसिले बताए । शियानाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक, दयालु दानविर महानुभावहरुलाई उपचारमा आर्थिक सहयोग गरिदिन शियानाकी आमा रितु पुनले आग्रह गरेकी छन् । उनले भनिन्–“पहिला पनि यहाँहरुले सहयो गरिदिनु भयो र छोरीले नयाँ जिवन पाएकी छिन्, अवको उनको पूर्ण उपचार सफल गराउन पनि यहाँहरुसँग सहयोगको याचना गर्दछु ।”

हासेर परिवार र समाजमा खुशि दिलाउने उमेरमा आफुलाई के भएको थाहा छैन् शियानालाई । उनको मुस्कानले बुबा आमाको मुहारमा खुसी छाउँछ तर उनको उपचार पूर्ण गर्न सकिदैनकी भन्ने पिरले रात दिन पिरोलि रहन्छ । ९ महिनाकी शियानाले अस्पतालको बेडबाट सबैको सहयोगको अपेक्षा गरेकी छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l