थाइवाङका घरघरमा खानेपानी

  • ५ फाल्गुन २०७५, आईतवार
  • 2784 पटक पढिएको

 

सिजन रोका ,

थाइवाङ ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका १ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । ७२ लाख ५८ हजार ६८८ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिएका थिए ।

गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत नेपाल सरकार, फिनल्याण्ड सरकार मंगला गाउँपालिकाको अनुदान तथा उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको हो । नेपाल सरकारको २८ लाख ७७६, फिनल्याड सरकारको १५ लाख ७५ हजार ४३६, मंगला गाउँपालिकाको सात लाख ३३ हजार १५९, उपभोक्ताको ७३ हजार ३१६ रुपैयाँ नगद लगानी रहेको आयोजना निर्माणका लागि उपभोक्ताले र २१ लाख ४८ हजार ९१० रुपैयाँ बरारबको श्रमदान गरेका छन् ।

२०७४ पुष ९ गतेदेखि निर्माण सुरु भएको आयोजनाको शनिबार मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका थिए । यसअघि सार्वजनिक धारा, कुवा र पधेराबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयबासीहरुलाई घरघरमै धारा जडान गरेर खानेपानी वितरण गरिएपछि सुबिधा, समयको बचत र सरसफाइमा सहयोग पुगेको छ । थाइवाङ आधारभुत विद्यालयमा बालमैत्री धारा पनि निर्माण भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रोका, उपाध्यक्ष सिर्जना केसी, परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले खानेपानीको सुबिधा विस्तारमा प्राथमिकता दिएको बताए । वास सहजकर्ता गोविन्द पौडेलको सञ्चालन, अनुगमन समितिका ओमबहादुर पुनको स्वागतमा भएको कार्यक्रम अनुगमन समितिका संयोजक बलिभद्र गौतमले आयव्यय वितरण, प्राबिधिक सहजकर्ता इन्द्र चन्द्ले संरचनाको मूल्याङकन प्रतिवेदन र कार्यकारी सचिव राजेन्द्र आचार्यले आय व्यय अनुमोदन गराएका थिए ।

थाइवाङ आधारभूत विद्यालयकी प्रअ देवी पुर्जा, उपभोक्ता मोहन पाइजाले मन्तब्य व्यक्त राखेको कार्यक्रममा वडा अध्यक्ष डेगबहादुर राम्जाली, वडा सदस्य डिलकुमारी खत्री, चक्रलाल पाण्डे, चन्द्रमान शेरपुञ्जा, इञ्जिनियर सोहनजंग कार्की लगायतको उपस्थिती थियो ।