अभिभावक भेलासहित उसु खेलाडीको ग्रेडिङ

  • ५ फाल्गुन २०७५, आईतवार
  • 2073 पटक पढिएको

म्याग्दी, ५ फागुन । जिल्ला उसु संघ म्याग्दीको आयोजनामा उसु खेलाडीहरुको ग्रेडिङ शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । म्याग्दी जिल्लामै पहिलोपटक उसु खेलका खेलाडीका अभिभावहरुको भेलासहित गरिएको उसुको ग्रेडिङमा उसु खेलाडीका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।


जिल्ला उसु संघ म्याग्दीमा आबद्ध ४४ जनाको ग्रेडिङ गरिएको म्याग्दीका उसु प्रशिक्षक भगिरथ कँडेलले बताए । जिल्ला खेलकुद विकास समिति बागलुङका सहायक उसु प्रशिक्षक दिलबहादुर किसानले खेलाडीहरुको प्रतिभा मूल्याङ्कन गरेका थिए । उनका अनुसार सहभागी खेलाडीको नतिजा सोमबार सार्वजनिक हुने भएको छ भने उनीहरुले नेपाल उसु संघबाट आगामी बैशाख भित्रमा प्रमाणपत्र पाउने छन् । राष्ट्रिय खेलकुदको तयारीमा सबै खेल विधाका अफिसियलहरु खटेका कारणले गर्दा प्रमाणपत्रका लागि अलिकति ढिलाई हुने प्रशिक्षक किसानले बताए ।


म्याग्दी जिल्लाको मंगला गाउँपालिका–२, का भगीरथ कँडेल बागलुङको गलकोटमा अध्यापन गर्दागर्दै म्याग्दी आएर उसु खेलाउन थालेपछि खेलको पहिलोपटक आधिकारीक रुपमा म्याग्दीमा पनि विस्तार भएको थियो । म्याग्दीमा उसु स्थापना भएको छोटो समयमै गतवर्ष भएको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप पश्चिमाञ्चलमा एक स्वर्ण र ३ रजतपदक हात पारेको म्याग्दीले विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड र उपराष्ट्रपति रनिङ शिल्डमा पनि प्रदेशस्तरमा मेडल हात पारेको छ ।

आत्मरक्षाका लागि विश्वमै उत्कृष्ट मानिने उसु खेल शारीरिक मात्र नभएर बौद्धिक खेल पनि भएकाले यस क्षेत्रमा आफ्ना बालबालिकालाई लगाउनुपर्ने जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले बताए । शारीरिक व्यायमका लागि र आत्मरक्षाका साथै मस्तिष्कको पनि भरपुर प्रयोग हुने भएकाले पढ्ने विद्यार्थीका लागि पनि निकै राम्रो हुने बास्कुनेले बताएका थिए । ग्रेडिङको औपचारीक कार्यक्रमको सञ्चालन जिल्ला उसु संघ म्याग्दीका कोषाध्यक्ष राजु केसीले गरेका थिए ।