चिमखोले फेसबुक समुहको दरमिजामा हिज्जे प्रतियोगीता सम्पन्न

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 3496 पटक पढिएको

म्याग्दी, ३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा रहेको शिव आधारभुत विद्यालयमा शुक्रवार आधारभुत तह कक्षा ५ सम्मको हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । चिमखोले फेसबुक समुहको बार्षिक कार्यक्रम अनुसार शिव आधारभुत विद्यालयको आयोजना, दिपशिखा युवा क्लब र प्रगतिशिल आमा समुहको व्यबस्थापन र चिमखोले फेसबुक समुहको प्रायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।


आठौँ संस्करणको यस प्रतियोगितामा स्रोत केन्द्रका ११ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा शिब आधारभुत विद्यालय दरमिजा प्रथम, सुन्दरा आधारभुत विद्यालय दुवाडी द्धितिय, जनआदर्श आधारभुत विद्यालय कोटगाउँ तृतिय र अमर मावि चिमखोला सान्त्वना भएका छन् ।


प्रतियोगितामा लगातार तिन बर्ष बिजेता बन्दै शिब आधारभुत विद्यालयले रनिङ्गशिल्ड हात पारेको चिमखोला फेसबुक समुहका संस्थापक अध्यक्ष विरन पुनले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुन सफल विद्यालयलाई क्रमश ः नगद रु २ हजार, १५ सय, १ हजार र ५ सयको साथमा प्रमाणपत्र र स्टेशनरी सामाग्री सहित पुरस्कृत गरिएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रमको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले फेसबुक समुहको सहयोगमा गरिएको प्रतियोगिताले शिक्षा क्षेत्रमा सुधार ल्याउन र प्रतिस्पर्धी बन्न सहयोग पुग्ने बताउनुभयो ।


सो अवसरमा गाउँपालिका अध्यक्ष भण्डारीले शिव आधारभुत विद्यालयको शैक्षिक सुधारको लागि व्यक्तिगत रुपमा रु ६० हजार नगद सहयोग गर्नुभएको छ । अध्यक्ष भण्डारीले सो सहयोग विद्यालयका प्रधानध्यापक गिता सुवेदीलाई हस्तान्तरण गर्नुुभएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा संयोजक बालकृष्ण उपाध्याय, स्रोत व्यक्ति दुतबहादुर गर्वुजा लगायतले मन्तव्य राख्नुभएको थियो ।


चिमखोले फेसबुक समहुका महासचिब कप्रसाद थपाको स्वागत, धनकुमार शेरपुञ्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा फेसबुक समुहका संस्थापक अध्यक्ष विरन पुन, उपाध्यक्ष हिस्टोरी पाईजा, सदस्य मेजन थापा लगायतको उपस्थिति रहेको थियो । चिमखोला फेसबुक समुहले विद्यार्थिहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उदेश्यले हरेक बर्ष स्रोत केन्द्र स्तरीय प्रतियोगिता सञ्चालनको लागि सहयोगदाताबाट आर्थिक संकलन गरि करिब रु ३ लाखको अक्षयकोष स्थापना गरेको छ ।