धवलागिरी गाउँपालिकाका तीन हजार बालबालिकाको स्वास्थ्य परिक्षण

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 2014 पटक पढिएको

बेनी ३ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको शुक्रबार समिक्षा गरिएको छ । गाउँपालिकाका, स्वास्थ्य शाखा, गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा माघ २० देखि २३ सम्म सञ्चालन गरिएको कार्यक्रमको मुनामा समिक्षा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको बैठकमा सात वटै वडामा परिचालन भएका स्वास्थ्यकर्मीहरुले २८ वटा विद्यालयका तीन हजार ७२२ जना मध्य तीन हजार ४४६ जनाको स्वास्थ्य परिक्षण गरेको जानकारी गराइएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।  विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईप्रती
सचेत बनाउने उद्देश्यले स्वाथ्य परिक्षण गरिएको हो । वर्षको दुई पटक विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १९ वटा सामुदायिक विद्यालयमा सामुदायिक विकास परियोजना लागू भएको छ । विद्यार्थीहरुमा दाँत, आँखाको समस्या बढी भेटिएको छ । यसैगरी महिनावारी व्यवस्थापनका बारेमा किशोरीहरु अनभिज्ञ रहेको समिक्षा बैठकमा स्वास्थ्यकर्मीहरुले जानकारी गराउनुभएको थियो ।