पोषणका लागि स्थानीय खाद्यान्नको उपभोगमा जोड

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 2673 पटक पढिएको

सन्तोष गौतम
रनबाङ ३ फागुन । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य र पोषण सुधारका लागि स्थानीय खाद्यान्नको प्रयोगमा जोड दिनुभएको छ । तयारी र आयातित खाद्यान्नको बढ्दो प्रयोगका कारण एकातर्फ देशको पैसा बिदेशिने र अर्कोतर्फ स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले गाउँघरमै उत्पादन हुने खाद्यान्नको उपभोग गर्नुपर्ने मन्त्री पुनको भनाई थियो ।

मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले शुक्रबार मंगला गाउँपालिका २ सहश्रधारा स्थित बाबियाचौर स्वास्थ्य चौकी परिसरमा आयोजना गरेको फर्सीको खिर प्रर्दशनीमा भेला भएका आमाहरुलाई मन्त्री पुनले स्वस्थ नागरिक तयार पार्न खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

बालबालिकाको पौष्टिक आहराका लागि फर्कीको खिर बनाएर खुवाउने प्रबिधि सिकाउन मिलन म्याग्दीले सहश्रधारामा आयोजना गरेको कार्यक्रम वडा अध्यक्ष धनबहादुर खातीको अध्यक्षता र फिल्ड सुपरभाइजर भिमकुमारी बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एउटै परिकारबाट बालबालिकाको शारीरिक तथा वौद्धिक विकासका लागि आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले मिलन म्याग्दी मार्फत सञ्चालित सुआहारा कार्यक्रमले फर्सीको खिर बनाउने तरिका सिकाउन अभियान चलाएको हो ।

पाकेको फर्सीमा दूध, घ्यू, ओखर, अण्डा, चिनी, नुन, साग र मकैको पिठा मिसाएर पकाएपछि खिर बनाउन सकिन्छ । धेरै थरीका पौष्टिक तत्व पाइने खाद्यान्न एकै ठाउँमा मिसाएर खुवाउने भएकाले फर्सीको खिर बच्चाको आहराका लागि पोशिलो र उपयोगी हुने सुआहारा कार्यक्रमका संयोजक गरिमा पुनले बताउनुभयो ।