जमुनाका परिवारलाई जापानबाट सहयोग

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 2239 पटक पढिएको

बेनी ३ फागुन । कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्न बाध्य बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारको परिवारलाई शुक्रबार जापानबाट सहयोग प्राप्त भएको छ । दुई नातीसँगै बगरफाँटको सरस्वति आधारभुत विद्यालय परिसरमा बस्दै आएकी ७५ वर्षीया सुनारलाई बेनपा २ गौस्वाँरा घर भई हाल जापानमा रहनुभएका राजकुमार र शोभा कार्कीले दिवंगत बुवा हेमबहादुर कार्कीको वार्षीक पुण्य तिथी पारेर सहयोग गर्नुभएको हो ।

वडा अध्यक्ष हिराबहादुर थापा, वडा सदस्य चन्द्रबहादुर कुँवर, स्थानीय गोविन्द शर्मा र कृष्णप्रसाद रिजालले कार्कीले पाँच हजार १०० रुपैयाँ मूल्य बराबरको एक बोरा चामल सहित लत्ताकपडा, कापीकलम, दाल र चिनी लगायतका सामग्री सुनारलाई उपलब्ध गराउनुभएको थियो ।
सुनारको दयनीय अवस्थाका बारेमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुट्न थालेको छ । बुवा र आमालेनै दोस्रो बिवाह गरेर वेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् ।

शौचालयको लागि बनाएको चार कोेठे टहराको एउटा कोठामा सुत्ने बज्यै नातीहरुले अर्को कोठालाई भान्छाकोठा बनाएका छन् । विद्यालयमा भएका दुई वटा मध्य एउटा प्रयोग बिहीन शौचालयमा मंसिर १७ गतेदेखि सुनारका परिवार बस्ने गरेका हुन् ।  ‘बिहान बेलुकी विद्यालयको रेखदेख गर्छु, खाली चर्पीको कोठामा बस्छु भनेर अनुरोध गरेपछि वृद्धाको दुख देखेर र बालकहरुको भविश्य हेरेर प्रयोग नभएको शौचालयमा बस्न दिएको,’ व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।


एनोस र सिमसनकी आमा मञ्जु बिदेश गएको बेला बुवा राजुले २ वर्षअघि दोस्रो बिवाह गरेका थिए । पछि मञ्जु पनि घर फर्कीएर दुई छोरालाई छाडेर दोस्रो बिवाह गरेर सम्र्पक बिहीन भएकी थिइन् ।  सोही विद्यालयमा एनोस कक्षा २ र सिमसन बालकक्षामा पढ्छन् । दोस्रो बिवाह गरेर वेपत्ता भएका राजु तीन वर्षअघि बुवा बित्दा पनि घर आएका थिएनन् । सुकुम्बासी सुनारका चार भाई मध्य भारत गएका माइला र साइला छोरा पनि वेपत्ता छन् ।

घरमै भएका जेठा छोरा ज्याला मजदुरी गरेर जिविका चलाउँछन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट नातीहरुको पढाई, नुन, तेल गर्ने खर्च जुटाउने उहाँले बताउनुभयो । वृद्धा सुनारले सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।  वडा अध्यक्ष थापाले सुनार परिवारको बसोबास व्यवस्थाका लागि जग्गा व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो ।