बाबा आमाले छाडेपछि दुई बालकको पालनपोषण ७५ बर्षिय हजुरआमाको काँधमा (भिडियाे सहित)

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • कमल खत्री
  • 3289 पटक पढिएको

कमल खत्री
म्याग्दी, ३ माघ । कतिपय मानिस सन्तान नभएर जिवनभर निरास हुन्छन् । तर यहाँ दुई छोराहरुलाई एक दम्पतीले बेसाहारा बनाएर छाडेका छन् । बेनी नगरपालिका–२ तमानेका राजु सुनारका दम्पतीले आफ्ना दुई छोरा सहितको परिवारलाई भताभुंग बनाएर छोराहरुलाई अल्पत्र बनाएर एक अर्काले पुनः दोस्रो विवाह गरेको रहस्य खुलेको छ । बाबा र आमा ले नै दोस्रो विवाह गरेर छोराहरुलाई अल्पत्र पारेपछि नातीहरुको हुर्काइ पढाईको जिम्मा अहिले ७५ बर्षिय हजुरआमा जमुनाको काँधमा आएको छ । सुकुम्बासी परिवारकी सुनारका कान्छा छोरा राजुका दम्पतीले दुई छोरालाई बृद्ध आमालाई सुम्पीएर बेखबर बनेका छन् ।

छोरा बुहारीले नातीहरुलाई अल्पत्र पारेर हिँडेपछि विगत दुई बर्षदेखि हजुरआमा जमुनाले दुई बालकको रेखदेख र पालनपोषण गर्दै आएकी छिन् । बृद्धभक्ता बाहेक आम्दानीको कुनै स्रोत भएको र नातीहरुको पढाईको लागि अहिले सुनारले बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयमै बास बस्ने गरेकी छिन् । ‘‘ पहिले बालुवा चाल्ने काम गर्थे, अहिले काम गर्न सक्ने अबस्था पनि छैन, आम्दानी नभएपछि कोठा भाडा तिर्न सक्ने अबस्था भएन, भाडा तिर्न नसक्ने भएपछि अहिले विद्यालयमै बास मागेर बसेका छौँ’’–सुनारले भनिन् ।

विद्यालयको प्रयोगविहिन सौचालयमा बसेर अहिले सुनारले ९ वर्षीय एनस र ७ वर्षीय सिमसन दुई नातीको हुकाई र पढाई गराउँदै आएकी छिन् । विद्यालयमा पढ्दै आएका बालक र उनकी हजुरआमा कोठा भाडा तिर्न नसकेर बासको खोजीमा आएपछि सौचालयको प्रयोजनको लागि निर्माण भएपनि चौकीदारको रुपमा प्रयोग हुँदै आएको ठाउँलाई मानविय सहयोगको रुपमा बास बस्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

उनीहरु गत मंसीरदेखि उक्त सौचालयमा बस्न थालेका हुन् । ‘ खालीे कोठामा बस्छु भनेर अनुरोध गरेपछि उनीहरुको दयनिय अबस्था देखेपछि प्रयोग नभएको शौचालयमा बस्न दिएका हौँ, उनीहरुको अबस्था निकै नाजुक छ, विद्यालयबाट पनि हामीले बच्चाहरुलाई सहयोग गर्ने योजना बनाएका छौँ,’’–अध्यक्ष कार्कीले भने । ४ कोठे सौचालयको बिचको एक सौचालय बिग्रीएको कारण प्रयोगमा छैन् । एउटा कोठा भने उनीहरुले सौचालयको रुपमा प्रयोग गर्छन् । अन्य दुई कोठामध्ये एउटामा खाना पकाउने र अर्कोमा सुत्ने गरेको सुनारले बताईन् । ‘‘ छेउमै रहेको अर्को नियमित प्रयोग गर्ने सौचालयबाट दुर्गन्ध आउने भएपनि उनीहरुको लागि यो बसाई बाध्यता हो ।
                     चिसोबाट बच्न बोराको बार
म्याग्दीखोलाको नजीकै रहेको सो सौचालयको झ्यालमा सुनारले बोराले टालेकी छिन् । हिउँदयाममा चिसो सिरेटो आउने भएकाले नातीहरुलाई चिसोबाट जोगाउन झ्याल र पानी चुहिने ठाउँमा बोराले टालेको उनले बताईन् । अहिले उनीहरु बस्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । चिसोबाट बच्न भुईमा विद्यालयले दिएको काठका फलेक राखेर विस्तारा बनाईएको छ ।

‘‘ विहान बेलुका के खाने ठेगान छैन, गाउँलेलाई मागेर यिनीहरुको भोग मेटाउने गरेको छु, शरीरमा न्यानो बनाउने थाउनाथरा पनि प्रयाप्त छैन’’–सुनारले भनिन् । विजुलीको सुविधा नभएकाले कक्षा २मा पढ्ने यनस र बालकक्षामा पढ्ने सिमसन रातमा टुकी बालेर पढ्ने गर्छन् । टुकीमा बसेर पढ्नुपर्दा निकै समस्या भएको उनीहरु बताउँछन् ।
                                यसरी छाडे बुबा आमाले
जमुना मजदुरी गरि कान्छो छोरा राजु संगै बस्दै आएकी थिइन् । उनले म्याग्दीकै रघुगंगा गाउँपालिका–५ ठाडखानीबाट विवाह गरेका थिए । दुई छोराहरु जन्मिएपछि राजुकी श्रीमती विदेश गएकी थिइन् । उनी फर्किएर आउँदा राजुले अर्को विवाह गरिसकेका थिए । विदेशबाट जेठी श्रीमती फर्किएपछि उनीहरुको बिचमा सम्बन्ध राम्रो हुन सकेन् । त्यसपछि उनले पनि अर्को विवाह गरीन् ।

बुवा र आमालेनै दोस्रो बिवाह गरेर छोराहरुलाई अल्पत्र पारेर हिँडेपछि हजुरआमा जमुनाले उनीहरुलाई स्याहार गरेर हुर्काउन थालेकी हुन् । ‘‘ छोरा बुहारीले नै दोस्र्रो विवाह गरेर गए, साउँको भन्दा व्याजको मायाँ लाग्दो रहेछ, बाख्रा पाठा भए बेच्ने थिए, मार्न भएन्, भोकै राख्न भएन, जेनतेन गरेर स्कुल पठाउने गर्छु ’’–बृद्ध अबस्थामा पुगेकी सुनारले भनिन् ।

                              युवाहरुले गरे सहयोग
प्रयोगविहिन सौचालयमा आश्रय लिएकी ७५ बर्षिय जमुना सुनार र उनका दुई नातीहरुलाई बेनीका युवाहरुले रु १७ हजार बराबरको अत्याबश्यक सामाग्री सहयोग गरेका छन् । बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दिपक जिसीको नेतृत्वमा १० जना युवाहरुले चरम आर्थिक संकट व्यहोर्नुभएकी सुनारको परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् ।

हाल बेनीमा व्यवसाय गर्दै आउनुभएका जिसी संगै म्याग्दीको राखु र पर्वतको मल्लाज घर भई बेनीमा अध्ययन एवम व्यवसाय गर्दै आएका इश्वर भण्डारी, इश्वर खत्री, एकेन्द्र भण्डारी, सन्दिप तिमल्सिना,राजिप मल्ल, सौजन्य मल्ल, सागर भण्डारी, देवेन्द्र भण्डारी र विरेन्द्र गिरिले चामल, तेल, दाल, विस्तारा, न्यानो लत्ताकपडा संगै रातीमा उज्यालोको लागि लाईट लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।
                                      मुठीदान सहयोग
सुनार परिवारलाई बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले सातौ वार्षिकोत्सवको अवसरमा मुठ्ठीदान अभियान अन्तरगत खाद्यान्न सहयोग गरेको छ । दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक प्याक चाउचाउ, २ दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको संस्थाकी अध्यक्ष ज्योति लामिछानेले जानकारी दिईन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l