प्रणय दिवसको अवसरमा युवाहरुले गरे विपन्न सुनार परिवारका बृद्ध र बालकहरुलाई सहयोग (भिडियो सहित)

  • २ फाल्गुन २०७५, बिहीबार
  • कमल खत्री
  • 5915 पटक पढिएको

कमल खत्री

बेनी, २ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा दुई नातीहरुलाई हुर्काउँन आर्थिक र बसोबासको समस्यामा पर्नुभएकी एक बृद्धलाई सहयोग जुटेको छ । आर्थिक अभाबले कोठा भाडा तिर्न नसकेपछि स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रयोगविहिन सौचालयमा आश्रय लिनुभएकी ७५ बर्षिय जमुना सुनार र उहाँका दुई नातीहरुलाई बेनीका युवाहरुले रु १७ हजार बराबरको अत्याबश्यक सामाग्री सहयोग गरेका हुन् ।

बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दिपक जिसीको नेतृत्वमा १० जना युवाहरुले चरम आर्थिक संकट व्यहोर्नुभएकी सुनारको परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको रोहोबरमा उहाँहरुले सहयोग प्रदान गर्नुभएको थियो ।

हाल बेनीमा व्यवसाय गर्दै आउनुभएका जिसी संगै म्याग्दीको राखु र पर्वतको मल्लाज घर भई बेनीमा अध्ययन एवम व्यवसाय गर्दै आएका इश्वर भण्डारी, इश्वर खत्री, एकेन्द्र भण्डारी, सन्दिप तिमल्सिना,राजिप मल्ल, सौजन्य मल्ल, सागर भण्डारी, देवेन्द्र भण्डारी र विरेन्द्र गिरिले चामल, तेल, दाल, विस्तारा, न्यानो लत्ताकपडा संगै रातीमा उज्यालोको लागि लाईट लगायतका सामाग्री विहिवार हस्तान्तरण गर्नुभएको हो ।

सहयोग बुझ्दै बृद्ध अबस्थामा पुग्नुभएकी जमुनाले आफ्नै बुबा आमाले छाडेर गएका स–साना बालकहरुको पठनपाठन र चिसो याममा न्यानो लुगा र खाद्यान्न सहयोग गरेकोमा युवाहरुलाई धन्यबाद दिनुभयो । मागेर जिविकोपार्जन गर्दै आउनुभएकी सुनार आफु बसेकै ठाउँमा सहयोग लिएर युवाहरुको टोली पुग्दा भाबुक हुनुभएको थियो । खुसीले उहाँको आँखा रसाएका थिए ।

बुबा आमाले नै दोस्रो विवाह गरि दुई बालकलाई हजुरआमासंग छाडेर गएपछि समस्यामा परेका सुनार परिवारलाई राहत पुगोस भन्ने उदेश्यले प्रणय दिवसको अवसरमा सो सहयोग गरिएको सहयोगदाता राजिप मल्लले बताउनुभयो । कालिगण्डकी  मिडियाकाे युटुब च्यानल र विभिन्न अनलाईन र पत्रपत्रिका मार्फत सुनार परिवारको समस्याबारे समाचार प्रकाशन तथा प्रचारण भएपछि  सहयोग गरेकाे उहाँले बताउनुभयाे ।

सरस्वती आधारभुत विद्यालयको प्रयोगविहिन सौचालयमा बसेर अहिले सुनारले ९ वर्षीय एनस र ७ वर्षीय सिमसन दुई नातीको हुकाई र पढाई गराउँदै आउनुभएको छ । सुकुम्बासी परिवारकी सुनारका कान्छा छोरा राजुका दम्पतीले दुई छोरालाई बृद्ध आमालाई सुम्पीएर बेखबर बनेका छन् । बाबा र आमा ले नै दोस्रो विवाह गरेर छोराहरुलाई अल्पत्र पारेपछि नातीहरुको हुर्काइ पढाईको जिम्मा आफ्नो काँधमा आएपनि भाडामा लिएको कोठाको भाडा तिर्न आम्दानीको स्रोत नभएपछि विद्यालयमा आश्रय लिएर बसेको उहाँले बताउनुभयो ।

विद्यालयमा पढ्दै आएका बालक र उहाँकी हजुरआमा कोठा भाडा तिर्न नसकेर बासको खोजीमा आएपछि सौचालयको प्रयोजनको लागि निर्माण भएपनि चौकीदारको रुपमा प्रयोग हुँदै आएको ठाउँलाई मानविय सहयोगको रुपमा बास बस्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
४ कोठे सौचालयको बिचको एक सौचालय बिग्रीएको कारण प्रयोगमा छैन् । एउटा कोठा भने उहाँहरुले सौचालयको रुपमा प्रयोग गर्नुहुन्छ । अन्य दुई कोठामध्ये एउटामा खाना पकाउने र अर्कोमा सुत्ने गरेको सुनारले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l