दृष्टिविहिन स्रोत कक्षालाई रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा सहयोग

  • २ फाल्गुन २०७५, बिहीबार
  • 2008 पटक पढिएको

बेनी, २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले दृष्टिविहिन स्रोत कक्षालाई रु २१ हजार बराबरको सहयोग गर्नुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा रहेका बालबालिकाहरुको लागि अध्यक्ष भण्डारीले सहयोग गर्नुभएको हो ।


उहाँले २१ हजार बराबरको मादल, सारङ्गी, अडियोको पेनड्राईभ, स्पिकर, कम्प्युटरको किबोर्ड, कापि कलम लगायतका शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको विद्यालयका शिक्षक दामोदर रिजालले जानकारी दिनुभयो । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले स्रोत कक्षाका बालबालिका र स्रोत शिक्षक गणेश सुवेदीलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सेवा र सुविधाको रकमलाई अध्यक्ष भण्डारीले कोषको रुपमा जम्मा गरेर सामाजिक क्षेत्रमा खर्चिने गर्नुभएको छ । कोषबाट यस अघि अध्यक्ष भण्डारीले बेग, पाखापानी, झिँ र भगवतीका १५ घरपरिवारका ७५ जना असाह्य, अपंगता र विपन्न परिवारका ज्येष्ठ नागरिकको स्वास्थ्य विमा गरिदिनुभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।