करबाकेलीमा अक्षयकोष स्थापना

  • १ फाल्गुन २०७५, बुधबार
  • 3087 पटक पढिएको

बेनी १ फागुन । अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडा स्थित म्याग्दीको धार्मिक पर्यटकीय स्थल करबाकेलीको संरक्षण र व्यवस्थापनका लागि अक्षयकोष स्थापना भएको छ । पुन समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, मर्मत सम्भार तथा पुजा व्यवस्थापनका लागि करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले अक्षयकोष स्थापना गरेको हो ।


समिति अन्तरगत स्थापना भएको ११ लाख १७ हजार रुपैयाँको अक्षयकोषको वार्षिक ब्याज मध्य १५ प्रतिशत मूलधनमा थपिदै जाने र ८५ प्रतिशत संरक्षण र मर्मत कार्यमा परिचालन गरिने अक्षयकोषका संयोजक समेत रहनुभएका करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो । संयोजक पुनले अक्षयकोषको मूलधन रकम वृद्धी गरेर २५ लाख रुपैयाँ पु¥याउन चन्दादाताको खोजी भइरहेको बताउनुभयो । स्वदेश तथा विदेशमा रहेका पुन समुदायबाट चन्दा सहयोग जुटाएर अक्षयकोष स्थापना गरिएको हो ।

दुई करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदान लगायतका पूर्वाधार निर्माण गरिएको छ । मंसिर र जेठ महिनामा पुन समुदायले कुल देवताको पुजाआजा गर्ने करबाकेलीमा पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।
समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाईमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामिण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा गत बैशाखदेखि ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।  करबाकेलीमा म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जिवन, रितीरिवाज, संस्कृती र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर संग्रहालय स्थापना गर्ने तयारी करबाकेली संरक्षण समितिका सचिव रवी गर्बुजा पुनले बताउनुभयो ।
भवन निर्माण र सामग्री खरिदमा ६० लाख रुपैयाँ लागत अनुमान गरिएको संग्रहालय सञ्चालनका लागि दाताको खोजी भइरहेको छ । भवन निर्माणका लागि ढुङ्गा फुटाउने र काठ तयार पार्न सुरु गरिएको सचिव पुनले बताउनुभयो ।