गुर्जाका विद्यार्थीलाई ओखरका बिरुवा वितरण

  • १ फाल्गुन २०७५, बुधबार
  • 1985 पटक पढिएको

बेनी १ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको जनकल्याण माविका विद्यार्थीहरुलाई दाँते जातका ओखरका विरुवा वितरण गरिएको छ । गाउँपालिकाको एक विद्यार्थी, एक ओखर बिरुवा रोप्ने कार्यक्रम अन्तरगत २५१ जना विद्यार्थीहरुलाई एक एक वटाका दरले ओखरका विरुवा वितरण गरिएको हो ।

वडा अध्यक्ष झकबहादुर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराम छन्त्याल र प्रअ सुपेश सुवेदीले ओखरका विरुवा वितरण गर्नुभएको थियो । “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रमले स्थानीयबासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा समेत सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई ओखरका विरुवा वितरण गर्ने कार्यक्रम छ ।