नेकपा म्याग्दीले मनायो २४ औ जनयुद्ध दिवस

  • १ फाल्गुन २०७५, बुधबार
  • 2488 पटक पढिएको

बेनी १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न संघर्ष र बलिदानीले मुलुकमा राजैनितिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले राजनीतिक अधिकार प्राप्तिपछि अब मुलुकको अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य एवम प्रदेश सभा सदस्य विनोद केसीले अहिलेको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लैजान सबै तहका सरकार र सरोकारवाला क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, नेकपाका गण्डकी प्रदेश सदस्य नवराज शर्माले परिवर्तनको रक्षा र जनजिविकामा परिवर्तन ल्याउनु अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिनुभयो । नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य गोविन्द पौडेलको अध्यक्षता, जिल्ला संयन्त्र सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको स्वागत र जिल्ला संयन्त्र सदस्य सुविन जुग्जाली ( रेशम) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सामान्तवादको अन्त्य र गणतन्त्र स्थापनाको उद्देश्य राखेर जनयुद्ध सुरु गरेको थियो । माओवादीको नेतृत्वमा दश वर्षसम्म चलेको जनयुद्ध २०६२ को दोस्रो जनआन्दोलन संगै शान्ति प्रक्रियामा रुपान्तरण भएको थियो । राजतन्त्रको अन्त्य, गणतन्त्र घोषणा, संबिधानसभाबाट संबिधान निर्माण, समावेशीकरण हुदै कार्यान्वयनको चरणमा रहेको संघीय शाषण व्यवस्था जनयुद्धका राजनितिक उपलब्धि हुन् ।

जनयुद्धको नेतृत्व गरेको तत्कालीन माओवादी र नेकपा एमाले २०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको क्रममा तालमेल गरेका थिए भने २०७५ जेठ ४ मा पार्टी एकताको घोषणा गरेका थिए । एमाले र माओवादीको एकतापछिको पार्टीको नाम नेकपा बनेको छ ।