बेनीको फोहोर मोहोरमा रुपान्तरण

  • १ फाल्गुन २०७५, बुधबार
  • 2475 पटक पढिएको

बेनी, १ फागुन । बेनी बजारबाट निस्कने फोहोर मोहोरमा रुपान्तरण हुने भएको छ । बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापनको लागि बेनी नगरपालिकाले मिसन फर वेष्ट म्यानेजमेन्ट प्रा.लि पोखरासंग साझेदारी गरि फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न सुरु गरेको हो । मंगलवार नगरपालिका र प्रा.लि. बिच चालु आर्थिक बर्षभित्रसम्मको लागि फोहोर व्यवस्थापन सम्बन्धि दुईपक्षित सम्झौतामा हस्ताक्षर भएको नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

फागुन देखि आगामी असार मसान्त सम्मको लागि फोहोर व्यवस्थापनको लागि गरिएको समझदारीमा नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रा.लिका संचालक याम दमाईले हस्ताक्षर गर्नुभएको छ । अहिले नगरबासीबाट फोहोर व्यवस्थापनको लागि लिईने शुल्कमध्ये ४० प्रतिशत रकम नगरपालिका र ६० प्रतिशत रकम फोहोर व्यवस्थापन गरे बापत प्रालिलाई दिने गरि सम्झौता भएको प्रवक्ता बराईलीले बताउनुभयो ।

नगरपालिकाले अहिले बजार क्षेत्रको फोहोर संकलनमा प्रयोग गर्दैै आएको ट्याक्टर र कम्प्याक्टरको मर्मत , आबश्यक तेल लगायतको खर्च र फोहोर व्यवस्थापनमा खटिएका चार जना कर्मचारीको तलब समेत कम्पनीले नै व्यहोर्ने समझदारी भएको छ । प्रा.लि.ले बजार क्षेत्रमा संकलन हुने फोहोरलाई बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत रातोपहिरोमा निर्माण गरिएको सरसफाई केन्द्रमा प्रशोधन गर्नेछ । कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरि प्रा.लि.ले फोहोरबाट मोहोरमा रुपान्तरण गर्नेछ । यस अघि नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोरलाई संकलन गरि ठुलो पहिरोमा लगेर जलाएर व्यवस्पापन गर्दै आएको थियो ।

जलाएर फोहोर व्यवस्थापन गर्दा प्रदुषण बढेको भन्दै चौतर्फि आलोचना हुँदै आएको थियो । व्यवस्थित डम्पिङ साईट निर्माणको लागि समेत आबश्यक जग्गाको खोजीमा जुटेको नगरपालिकाले तत्कालिको लागि करिब रु ५० लाखको लागतमा फोहोर प्रशोधन र व्यवस्थापनको लागि सरसफाई केन्द्र निर्माण गरेको जनाएको छ ।