जातीय विभेद अन्त्यका लागि साझा प्रयासको आवश्यकता

  • २९ माघ २०७५, मंगलवार
  • 2461 पटक पढिएको

सन्तोष गौतम
ठूलोबगर २९ माघ । सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र जातीय भेदभावको व्यवहारिक अन्त्यका लागि साझा प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि ठूलोबगरमा सूरु भएको दलित जनप्रतिनिधि तथा अगुवाहरुबीच जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका सहभागि वत्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले चेतनाको विकास र राजनितिक परिवर्तनसंगै जातीय विभेद, छुवाछुत र दुब्र्यवहारका घटना कम हुदै गएका बताउँदै यसको व्यवहारिक अन्त्यका लागि सबै समुदायको साझा प्रयास आवश्यकता रहेको बताउनुभयो । दलित समुदाय आफ्नो अधिकारको उपभोगमा अग्रसर बन्नुपर्ने र अन्य समुदायलाई कानुनले अपराध मानेको छुवाछुत, जातीय विभेद र दुव्र्यवहार गर्न नहुने विषयमा सचेत बनाउनुपर्ने अध्यक्ष पुनको भनाई छ ।उपाध्यक्ष केशमाया मगरले जातीय हिसाबले पछि परेका समुदायको उत्थानका लागि गाउँपालिकाले उनिहरुको क्षमता, नेतृत्व र आर्थिक स्तर सुधारका कार्यक्रममा जोड दिएको बताउनुभयो ।


नेकपाका नेता सुवास विश्वकर्माले जातीय विभेदका स्वरुप र प्रकृति फेरिएको बताउँदै संबैधानिक व्यवस्थाको कडाइका लागि लागू गराउन दवाव र जागरुकताको आवश्यकता रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सहभागि दलित समुदायका अगुवाहरुले केही मठमन्दिर र धार्मिक स्थलमा अझै पुजाआजाका लागि निषेध गरिएको, अन्तरजातीय बिवाह गर्नेलाई सामाजिक र मानसिक तनाव दिने गरेको, दलित भनेर कोठा भाडा नदिएको र दलित जनप्रतिनिधिहरुको आवाज सुनुवाइ नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, वडा न. २ भुरुङ तातोपानीका वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाको सामाजिक विकास समितीका संयोजक ओमप्रकाश फगामी, कार्यपालिका सदस्य थमबहादुर बिक, बिष्णु परियार, वडा सदस्य बिरबहादुर पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीका अध्यक्ष बलबहादुर विश्वकर्माको अध्यक्षता, बालकुमार लामिछानेको स्वागत र प्रेम परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममाको विश्वकर्मा, लामिछाने र परियारका साथै दलित अगुवा टेकबहादुर विश्वकर्मा, मनबहादुर चर्माकार, याम किसान लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाका दलित जनप्रतिनिधि र अगुवाहरुको सहभागिता रहेको छ ।