कुबेतमा अल्पत्र म्याग्दीका रन्तिजालाई मोना कुवेतद्धारा उद्धार

  • २९ माघ २०७५, मंगलवार
  • 2679 पटक पढिएको

म्याग्दी, २९ माघ । रोजगारिको शिलसिलामा कुवेतमा पुगेर विरामी भएपछि अल्पत्र परेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुवेतको पहलमा ५२ बर्षका रञ्तिजालाई उद्धार गरि नेपाल पठाईएको हो । काम गर्दा गर्दै अचानक बेहोस भइ ढलेका रञ्तिजालाई फर्वानिया अस्पतालमा २१ दिन लामो उपचार पछि घर फिर्ता गरिएको हो ।


शारीरिक रुपमा अस्वस्थ भएको र काम गर्ने रेष्टुरेन्टको मालिकले तलब नदिएपछि अल्पत्र परेका रञ्तिजालाई मोना कुवेतको पहलमा ४ महिना २० दिनको तलब र राहदानी उपलब्ध गराएर घर फिर्ता गराइएको मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्माले जानकारी दिए । २२ बर्ष सम्म कुवेतमा काम गरेका रञ्तिजा घरविदा मनाएर कुवेत पुगेको २ बर्ष भएको थियो ।


‘‘कुवेत स्थित खैतानको एक रेस्टुरेन्टमा काम गर्दै आउनुभएको रहेछ, झन्डै पाँच महिना देखि तलब पनि नपाएको र राहदानी समेत नदिएको सुचना पाएपछि , मोना कुवेतको निरन्तरको ताकेतापछि मात्रै उहाँलाई अहिले घर फिर्ता हुने वातावरण सिर्जना गर्न सम्भव भयो’’–मोना कुवेतका महासचिब चन्द्र विश्वकर्माले भने ।
रक्तचापको समस्याबाट पिडित रञ्तिजाको केही महिना पहिले पत्थरीको समस्यालाई हटाउन सल्यक्रिया गरिएको जनाईएको छ ।

अहिले उनको मृगौलामा समेत समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएपछि उहाँको थप उपचारको लागि समेत घर फिर्ता गराईएको महासचिब विश्वकर्माले जानकारी दिए । उनलाई एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । उनलाई मोना कुवेतका कृष्ण बहादुर खड्का, मन बहादुर फगामी र पत्रकार चन्द्र बिश्वकर्माले यएरपोर्ट सम्म पुर्याउन गएका थिए ।