बेनीदेखि भगवती जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाईते, एकको अबस्था गम्भिर

  • २७ माघ २०७५, आईतवार
  • 4106 पटक पढिएको

म्याग्दी, २७ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


दुर्घटनामा घाईतेहरु मध्ये रघुगंगा– ३ मालिकाकी ३७ बर्षिय सरस्वती परियार (काली) गम्भीर घाईते भएकी छिन् । गर्भवती समेत रहेकी परिवारको अबस्था गम्भिर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरि उनलाई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरेको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

अस्पतालका डाक्टर रविकान्त शर्मा सहितको स्वास्थ्यकर्मीको टोलीले एयर उपचार गरि घाईते भएकी परियारलाई मणिपाल लगिएको उनले जानकारी दिए । दुर्घटनामा परि गम्भिर घाईते भएकी परियारलाई रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको पहलमा प्रभु एयरको हेलिकप्टर मार्फत पोखरा लगिएको हो ।

दुर्घटनामा परि घाईते भएका चालक सहित अन्य सवार ११ जना यात्रुहरुको अबस्था खतरामुक्त रहेको छ । उनीहरुको बेनी अस्पतालमै उपचार भैरहेको छ । दुर्घटनामा परी रघुगंगा गाउँपालिका– २ का गोविन्द शर्मा, कर्ण बहादुर कार्की, आरुसी खत्री, सम्झना भण्डारी, रघुगंगा– ३ पिप्लेकी राजकुमारी मल्ल, उनकी छोरी सजनी मल्ल, रघुगंगा –३ कलेजबाङका सरोज बस्याल, विर बहादुर शार्की, बेनी नगरपालिका–८ बस्ने दुर्गा पौडेल, जलजला गाउँपालिका– ४ पर्वतकी सिर्जना जिसी, उनको छोरा १ बर्षिय, आवान जिसी घाईते भएका छन् ।


दुर्घटनामा परेर घाईते भएकाहरुको गलेश्वरमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी युवा र स्थानीयवासीहरुले तत्काल उद्धार गरी बेनी अस्पताल ल्याईएको थियो । गलेश्वरदेखि उकालोबाटोमा जाँदै गरेको जिप दुर्घटना हुनुको कारण खुल्न सकेको छैन् । घाइतेहरुको टाउको, छाती र हातखुट्टामा बढी चोट लागेको छ ।


तस्बिरः कमल खत्री/भरत रकाल