नगरपालिका क्षेत्रमा पनि हिमपात, धाराको पानी जम्यो, गाउँलेलाई समस्या

  • २६ माघ २०७५, शनिबार
  • धु्रबसागर शर्मा
  • 1514 पटक पढिएको

म्याग्दी, २६ माघ । म्याग्दी जिल्लाको तल्लो क्षेत्रमा पनि अहिले बिहानदेखि बाख्लो हिमपात भएको छ । अत्यधिक चिसोका कारण पानी जमेपछि धाराहरुमा पानी आएको छैन । विहान धारको पानी समेत जमेपछि स्थानीयलाई समस्या भएको छ ।

म्याग्दीको उपल्लो क्षेत्रमा पर्ने गुर्जा,मुदी,मुना, खोप्रा, घोडेपानी,पुनहिल लगाएतका क्षेत्रमा विहीवार साँझदेखिनै हिमपात भएपनि बेनी नगरपालिका वार्ड नं २ ज्यामरुककोटको गौश्वारा, सानालेख, वार्ड नं ३ को भकिम्ली,डाँडाखानी,डोले, वार्ड नं ५ को जगन्नाथ क्षेत्र लगाएतका ठाउँमा बाख्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

विहान ८ः३० बजेसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन । अत्यधिक चीसो बढेपछि घरबाट बाहिर निस्कन नसिकएको बेनपा २ ज्यामरुककोट सानालेखका नारायण शर्माले बताउनुभयो ।

त्यसैगरी वार्ड नं ५ मा पर्ने जगन्नाथ क्षेत्रमा बाख्लो हिउँ परेको छ । हिमपातसंगै बढेको चीसोले पानीका मुहानहरु पनि जमेका छन् । धाराहरुमा पानी नआएपछि गाउँलेहरुको नित्यकर्म समेत प्रभावित भएको जगन्नाथबाट निलकण्ठ उपाध्यायाले जानकारी दिनुभएको छ ।

अत्यधिक चिसोका कारण सदरमुकाम बेनीमा समेत पसलहरु खुल्न सकेका छैनन् । यातायातका साधनहरु नचल्दा सडक सुनसान छन् । मानिसहरु घरभित्र बसिरहेका छन् भने बाहिरी जनजीवन अस्तव्यस्त बनेको छ ।

धु्रबसागर शर्मा