राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि माउण्ट एभरेष्टलाई ( भिडियाे सहित)

  • २१ माघ २०७५, सोमबार
  • 2362 पटक पढिएको

म्याग्दी, २१ माघ ।  बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार बेनीमा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा १९ स्वर्ण ३ रजत र १३ काश्य पदक प्राप्त गरी माउण्ट बिजयी भएको हो । यसैगरी १० स्वर्ण, १५ रजत र ११ काश्यपदक प्राप्त गरी न्यू वेष्ट प्वाईन्ट द्धितिय हुन सफल भएको छ ।

प्रतियोगितामा ६ स्वर्ण, १० रजत र १ काश्यपदक प्राप्त गरी बेनीकै प्रकाश मावि तृतिय हुन सफल भएको छ । प्रथम हुने विद्यालयले नगद रु ५० हजार सहित रनिङ्ग शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्दा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमशः ३५ हजार र २० हजार नगद सहित कप, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । छात्र÷छात्राको भलिबल, कबड्डी, कराँते, तेक्वाण्डो उसु र एथेटिक्स विद्याका खेलहरुमा प्रतिस्पर्धा भएको प्रतियोगिताका संयोजक एवम बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

कार्यक्रममा प्रथम,द्धितिय र तृतिय हुने विद्यालय र खेलाडीहरुलाई जिल्ला समन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, श्रीबक्स गुल्मका गुल्मपति मेजर राजन दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार प्रदान गरे । माघ १८ गतेदेखि सुरु भएको प्रतियोगिताको छात्र र छात्रा तर्फको भलिबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवाशीय मावि नै प्रथम भएको थियो ।

मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केसीले प्रतियोगिताले विद्यालय स्तरका बालबालिकाहरुमा रहेका खेलप्रतिभाको पहिचान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले खेलकुद स्वास्थ्यको लागि समेत उत्तिकै लाभदायी रहेको बताउँदै खेलकुदले विद्यार्थीहरुमा अनुसासन र सामुहिक भावनाको समेत विकास गराउन सहयोग पुग्ने बताउनुभयो ।

प्रतियोगिताका संयोजक राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको स्रोत व्यक्ति मोहन बानियाँ र अफिसीयल विरेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । यसैबिच प्रथम बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिजयी भए लगत्तै माउण्ट एभरेष्टले बेनीमा बिजयी उत्सव समेत बनाएको छ ।