धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

  • २० माघ २०७५, आईतवार
  • 2025 पटक पढिएको

सन्तोष गौतम
बेनी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो ।

सात वटै वडामा परिचालन भएका स्वास्थ्यकर्मीहरुले २८ वटा विद्यालयमा पुगेर बालबालिकाको स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईप्रती सचेत बनाउने उद्देश्यले स्वाथ्य परिक्षण गर्न लागिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य परिक्षण अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुले सहजिकरण र समन्वयको भूमिका निर्वाह गरेका छन् ।

१० वटा मावि, १–५ तहको पठनपाठन हुने १२ र १–८ तहको पठनपाठन हुने ६ वटा विद्यालयमा सम्बन्धीत वडा भन्दा बाहिरका स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परिक्षण गर्न लागिएको छ । एक हजार ९१० जना छात्रा र एक हजार ७९१ जना छात्र गरी तीन हजार ७०१ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य छ ।

वर्षको दुई पटक विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार आवश्यक बजेटको व्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १९ वटा सामुदायिक विद्यालयमा सामुदायिक विकास परियोजना लागू भएको छ । गरिब, विपन्न समुदायका विद्यार्थीहरुको शिक्षामा पहुँच वढाउने र निरन्तरता दिने वातावरण बनाउने तथा शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले यस वर्षदेखि मल्कवाङ र ताकममा परियोजना विस्तार गरेको छ ।

स्वास्थ्य परिक्षणका क्रममा देखिएका समस्याहरुको बारेमा जानकारी गराएर परामर्श दिने, जटिल किसीमका बिरामीहरुको लागि थप उपचारको व्यवस्था मिलाइने भएको छ । विद्यार्थी स्वस्थ भएमा शैक्षिक विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।