विश्व किर्तिमानीका लागि म्याग्दीका मीन बहादुर शेरचनको सगरमाथा आरोहण सुरु (फोटो फिचर)

  • ३ बैशाख २०७४, आईतवार
  • कमल खत्री
  • 7638 पटक पढिएको

म्याग्दी, ३ बैशाख । म्याग्दीको भुरुङ तातोपानीका छयासी बर्षका हिमाल आरोही मीन बहादुर शेरचनले आईतवारदेखि पुनः सगरमाथा आरोहण सुरु गर्नुभएको छ । सन २००८ मा ७६ बर्षको उमेरमा सवोच्च शिखर सगरमाथा हिमालको आरोहण गरेका शेरचनले पृथ्वीमाताको रक्षा, मानवताको कल्याण र विश्व शान्तिको कामना गर्दै आफ्नो गुमेको विश्वकिर्तिमानलाई कायम गराउन सगरमाथाको आरोहणमा निस्कनुभएको हो । 
सबैभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएपनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लाग्नुभएको हो ।

शेरचनले ८ हजार ८४८ मिटर अग्लो सगरमाथा आरोहण गर्न सफल भएमा पुनः ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गर्ने कृर्तिमानलाई कायम गराउन सक्नुहुनेछ ।
शेरचनको सगरमाथा आरोहणका लागि शेर्पा र सहयोगी सहितको ७ सदस्यीय टोलि काठमाण्डौबाट हेलिकप्टर मार्फत नाम्चे बजार पुगेको मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियानका संयोजक जीतबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नाम्चेबजार सम्म हेलिकप्टर मार्फत पुगेका शेरचनले सोमबारदेखि पदयात्रा गर्नुहुनेछ । उहाँ करिब ९ दिनमा सगरमाथाको आधारशिविरमा पुग्ने गरि योजना बनाईएको छ ।
उहाँले आधारशिविरबाट समगरमाथा आरोहण सुरु गरेपछि मौसम अनुकुलतालाई मध्यनजर गर्दै सगरमाथाको शिखरमा पुगेर नेपाली झण्डा फहराउनुहुनेछ । शेरचनलाई यस अघि राष्टपति विद्यादेवी भण्डारीले नेपाली झण्डा हस्तान्तरण गरिसक्नुभएको थियो ।

आफ्नो स्वेच्छाले शिखर आरोहण गर्न लागेका शेरचनले आफु उमेरले बुढो भए पनि आँट बुढो नभएको र  स्वास्थ्य अबस्था पनि राम्रो रहेकाले आरोहण सफल हुने बताउनुभयो ।
उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत लगायतका सङ्घ संस्थाहरुले सहयोग रहेका छन् । अभियानका संयोजक घर्तीमगरले शेरचनको सगरमाथा आरोहण अभियानमा करिब १ करोड खर्च लाग्ने बताउनुभयो ।
यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो  । सन् २०१५ मा सगरमाथा आरोहण गर्न आधारशिविर तर्फ प्रस्थान गरेका शेरचन मुलुकमा गएको महाभुकम्पको कारण सगरमाथाको आधारशिविरबाट आरोहण स्थगित गरि फर्कन बाध्य हुनुपरेको थियो ।
८६ बर्षको बृद्ध उमेरमा पनि सगरमाथा आरोहण गर्ने आँट बोकेका शेरचनले बुढापाकालाई शाहस र युवा पुस्तालाई प्रेरणा दिने बताउँदै संयोजक घर्ति मगरले शेरचनको सफल आरोहण भएपछि नेपाललाई विश्व सामु चिनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

भूतपूर्व गोरखा सैनिक समेत रहेका शेरचनले २०२ किमिको काठमाडौं —पोखरा यात्रा चार दिनमा र १०२८ किमिको मेची—महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरिसकेका छन् । 

तस्बिरः जीतबहादुर घर्ती मगर/कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l