बेनी नगरपालिको चौथो नगर सभाबाट विपद् जोखिम न्युनिकरण विद्येयक पारित

  • १८ माघ २०७५, शुक्रबार
  • 2349 पटक पढिएको

बेनी १८ माघ । प्राकृतिक विपद्का हिसाबले जोखिमयुक्त रहेको जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विद्येयक पारित गरेको छ । विहिवार सम्पन्न चौथो नगरसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ पारित गरेको हो ।

प्राकृतिक विपद्को जोखिम न्युनीकरण र विपद्को अवस्थामा व्यवस्थापन, राहत, उद्धार तथा पुर्नस्थापनाको कामलाई व्यवस्थित बनाउन ऐन बनाइएको बेनी नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले शुक्रबार नगरसभाको निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

म्याग्दी पहिरो, भुक्षय, नदी कटान, आगोलागी र बाढीको जोखिममा रहेको छ । म्याग्दीको बेनी सहित अधिकांश बस्तीहरु पहिरो तथा नदी कटानको जोखिममा छन् । यसैगरी बेनी नगरपालिकाको बिहीबारको बैठकले बेनी बजार भित्र सरकारी जग्गा अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन निश्चित समय दिने र आफै नहटाएर बल प्रयोग गरेर हटाउने निर्णय गरेको छ ।

 

पटके कर, स्वास्थ्य संस्था दर्ता, नविकरण, घ वर्गको निर्माण व्यवसायीको जरिवानाको शूल्क निर्धारण समेत गरिएको छ । पत्रकार सम्मेलनमा नगर उपप्रमुख सञ्जु बरुवालले नगरपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने ४०२ वटा योजना तथा कार्यक्रम मध्य समग्रमा ३५ प्रतिशत योजनाको सम्झौता भएको, २८ वटा सम्पन्न भएको जानकारी गराउनुभयो ।

यसैगरी बेनी नगरपालिकाले वडा न. ८ का अध्यक्ष समेत रहनुभएका प्रवत्ता बराइलीको संयोजकत्वमा कृष्णबहादुर बानिया, पदम पुन, गौरि थापा र लक्ष्मण बानिया सदस्य रहनुभएको बिधेयक समिति गठन गरेको छ । नगरसभाले नगरउपप्रमुख बरुवालले पेश गर्नुभएको शंशोधित बजेट तथा कार्यक्रम समेत अनुमोदन गरेको छ ।