शिखबासीको नमुना कार्य : सरकारी अनुदान भन्दा तेब्बर बढी रकम जुटाएर विद्यालय भवन

  • ३ बैशाख २०७४, आईतवार
  • गोपाल छन्त्याल
  • 5147 पटक पढिएको

म्याग्दी, ३ वैशाख ।समुदायले चाहे भने के हुदैन ? अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयले यहि कुरालाई पुष्टि गरेका छन् । दुईअघिको विनाशकारी भूकम्पले शिख माविको भवन चिरा–चिरा बन्यो । धेरै दिनसम्म विद्यालयको नियमित पठनपाठन अवरुद्ध बन्यो । जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन पनि प्रभावकारी हुदैनथ्यो । विद्यालयको यहि समस्यालाई दृष्टिगत जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका गत आर्थिक बर्षमा ३२ लाख रुपैयाँ अनुदान उपलब्ध गरायो । तर, शिखबासीले त्यसको तीन गुणा भन्दा बढी एकब करोड ४० लाख रुपैयाँ सहयोग जुटाएर चार कोठे सट्टा छ कोठे पक्की भवन निर्माण गरेका हुन् ।


आर्थिक सहयोग संकलन अभियान समितिका संयोजक क्या. बलबहादुर पुनले जिशिका अतिरिक्त सांसद् विकास कोष मार्फत १० लाख, साविकको शिख गाविसबाट ८ लाख ५० हजार र बाँकी शिख गाविसका स्थानीयबाट सहयोग संकलन गरिएको जानकारी दिए । उनका अनुसार, शिख्तानी समाज युकेबाट २० लाख ५४ हजार, शिख्तानी समाज हङकङबाट १५ लाख १५ हजार, पौखरा, काठमाडौँ र शिखका स्थानीयबाट २० लाख ७२ हजार, विद्यालय हितकोषबाट ६ लाख ७४ हजार, अमेरिका जापान, अष्टे«लिया, सिंगापुरबाट ८ लाख १८ हजार रुपैयाँ र नमस्ते इन्फान्टस् डी हिमालय फ्रान्सबाट १६ लाख ६ हजार गरि १ करोड ४० लाख ३३ हजार रुपैयाँ प्राप्त भएको हो ।


‘यहाँका आवश्यकताका बारे सबैलाई जानकारी गराएपछि स्वतःफुर्त रुपमा यति सहयोग प्राप्त भएको हो’, संयोजक पुनले भने, ‘यो अभियानमा एक रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म सहयोग प्राप्त भएको छ ।’ भवन निर्माणका लागि सदरमुकाम बेनीबाटै निर्माण सामाग्री ढुवानी गरिएको थियो । भूकम्प प्रतिरोधी भवनका लागि निर्माण सामाग्रीमा कुनै कन्जुस्याई नगरिएको विद्यालयले जनाएको छ ।
‘स्थानीयबाट सहयोग प्राप्त नभएको भए सरकारले दिएको चार कोठे भवन पनि निर्माण संभव थिएन्’, आर्थिक संकलन समितिका संयोजक पुनले भने, ‘विद्यालयले सहयोगदाताहरुलाई विशेष म्मान पनि गर्नेछ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुदुजा पुनले विद्यालय प्रति सबैको सहानुभूतिका कारण उक्त सहयोग जुटेको बताए । ‘हामीलाई शिक्षाबाट भवन परेपछि हामीले त्यसलाई बढाउन समुदायसँग छलफल ग¥यौँ, यहाँबाट स्वदेश तथा देशका विभिन्न भागमा बस्ने स्थानीयले खुलेर सहयोग गर्नुभयो’, उनले भने, ‘बाँकी बचत भएको रकम सहयोगदाताहरुको सल्लाहमा कसरी सहयोग सदुपयोग गर्ने भन्ने टुगो लगाउँनेछौँ ।’
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय हितकोष सुरु गरिएकोले त्यसलाई थप प्रभावकारी बनाउन बचत रकमले सहयोग पुग्ने उनले बताए । वि.स २०११ सालमा स्थापना भएको विद्यालयमा अहिले दुई सय विद्यार्थी अध्ययनरत छन् । सुविधासम्पन्न ६ कोठे भवन बनेपछि जोखिम मोलेर टहरामा अध्ययन गर्ने बाध्यता सधैका लागि अन्त्य भएको छ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले समुदायको विद्यालय प्रति अपनत्वका कारण दुर्गम क्षेत्रमा पनि सुविधा सम्पन्न भवन बनेको बताए । ‘हामीले दिएको भन्दा तीन गुणा बढी उहाँहरुले सहयोग जुटाएको पायौँ, यो अनुकरणीय काम हो’, उनले भने, ‘यसले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत विशेष अर्थ राख्नेछ, जहाँ समुदायको चासो र चिन्ता छ, त्यो विद्यालयले प्रगति गरेको देखिएको छ ।’

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l