पर्यटकीय टोड्केमा हिउँमा खेल्नेहरुको भिड (फोटो फिचर)

  • १३ माघ २०७५, आईतवार
  • कमल खत्री
  • 2770 पटक पढिएको

म्याग्दी १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । एक नगरपालिका सहित ५ गाउँपालिका रहेको यस जिल्लाको पहाडी देखि उच्च हिमाली भेग पुरौ हिउँले सेताम्मे भएका छन् । डाडाहरु हिउँले सेताम्मे भएपछि गाउँ बस्तीहरु हिउँको घुम्टोमुनी लुकेजस्तै सुन्दर र मनमोहक देखिएका छन् । म्याग्दीमा २०६३ साल फागुन २ गते जिल्ला सदरमुकाम बेनीमा समेत हिमपात भएको थियो ।

त्यसपछि हिमाली क्षेत्रमा बर्षैपिच्छे हिमपात हुने गरेको भएपनि १२ बर्षको अन्तरालमा मात्रै तल्लो पहाडी क्षेत्रसम्मै आउने गरि हिमपात भएको हो । हिउँमा खेल्नको लागि अहिले सदरमुकाम बेनी लगायतका ठाउँबाट हिउँ परेका पर्यटकीय स्थलहरुमा पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकीय स्थल टोड्केमा शनिवार ५ सय जना बढीले भ्रमण गरेका थिए । त्यस्तै आईतवार समेत हिउँ नपग्लीएको कारण हिउँमा खेल्नको लागि १ सय बढी पर्यटक पुगेको टोड्के हिल रिसोर्टका सञ्चालक मोहन केसीले जानकारी दिए ।

हिउँमा खेल्न पुगेका पर्यटकहरु सेताम्मे हिउँमा तस्बिर खिचाउने, हिउँमै पल्टने र विभिन्न आकृति बनाएर एक आपसमा रमाईलो गरिरहेका छन् । म्याग्दी भ्रमण बर्ष २०७५ मनाईरहेको सन्दर्भमा जिल्लामा भएको भारी हिमपातले आन्तरिक पर्यटकहरुको चहलपहल बढाएको टोड्केमा हिउँमा रमाउन पुग्नुभएका म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

हिमपात भएपछि म्याग्दीको पर्यटकीय स्थल पुनहिल, घोरेपानी, मोहरेडाँडा, रुईसे, झाँक्रेपानी, लगायतका क्षेत्रमा आन्तरिक पर्यटकहरु हिउँमा खेल्नको लागि पुगेका छन् । डाँडाकाँडाहरु समेत हिउँले ढाकिएर हिमाल जस्तै सेताम्मे बनेपछि युवायुवतिहरु हिउँमा खेल्नको लागि उत्साहित बनेको रघुगंगा गाउँपालिका–२ सिजलगाउँका युवा रामजी भण्डारीले बताए ।

म्याग्दीमा माथिल्लो भेगमा ४ फिट बढी र तल्लो क्षेत्रमा १ फिट सम्म हिमपात भएको छ । माथिल्लो भेगमा हिमपातले हिमपातले मानिसहरु घरबाट बाहिर निस्कन समेत सकेका छैनन् । निरन्तरको हिमपातले धारामा पानी जमेपछि समस्या भएको धौलागिरि गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविका शिक्षक रुपेश सुवेदीले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l