धवलागिरी गाउँपालिकाको गाउँ सभा : जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

  • १३ माघ २०७५, आईतवार
  • 2368 पटक पढिएको

सन्तोष गौतम
मुना १३ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो ।

‘पर्यटन, जलविद्युत, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी बृद्धी गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत सेवामा आम नागरिकको पहुँच वृद्धीमा जोड दिएका छौ ।’ मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) र ढोरपाटन शिकार आरक्षको बिचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो ।

सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्य चौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धी, पर्यटन विकासमा जोड दिएको बताउनुभयो । धवलागिरी गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातौ अग्लो धवलागिरी, गुर्जा लगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धवलागिरी गाउँपालिकाको सडक, विद्युत, भवन, शिक्षा, सञ्चार लगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भएपनि धवलागिरी गाउँपालिका पर्यटन, जलविद्युत, जडिवुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरि विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानुन छिटो बनाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आएपनि सरुवा भएर जाने समस्या धवलागिरी गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताउनुभयो ।