मगर समुदाय लोपउन्मुख संस्कृति ‘सोरठी’ संरक्षणमा जुट्दै (फोटो फिचर)

  • १० माघ २०७५, बिहीबार
  • कमल खत्री
  • 5260 पटक पढिएको

कमल खत्री

म्याग्दी १० माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ बर्षिय प्रदिप पाईजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने सो नाच लोपउन्मुख बन्न थालेपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाईजाले मादले मारुनी नाच सिकेका हुन् । बेनी स्थित लिटल गार्डेन एकेडेमीको कक्षा २ मा अध्ययनरत पाईजाले बिगत ३ महिना अघि गाउँमा आफ्नो ठुलो बुबा मार्फत पुख्र्यौली नाच सिकेका थिए । ‘‘ गाउँमा हरेक कार्यक्रममा पुख्र्यौली नाच्ने चलन छ, साना सानाले पनि यस्तो नाच सिक्नुपर्छ भनेपछि मैले पनि सिकेको हुँ’’–माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा आयोजित कार्यक्रममा पुख्र्यौली नाच्दै गरेका पाईजाले भने ।

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने सो नृत्य मगर समुदायको विवाह, वर्तबन्ध, क्षवर लगायतमा शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ । दुख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई जिवन्त राख्न यहाँका मगर समुदाय जुटेका छन् । मगर समुदायको बाहुल्यता रहेको म्याग्दीमा यतिबेला युवा पुस्ता पुख्र्यौली नाचतर्फ आकर्षित भएका छन् ।

नाच देखाउन थालेपछि कतिपय मानिस काम्न सुरु गर्ने अनौठो बिषेशता बोकेको पुख्र्यौली नाचको संरक्षणको लागि अग्रज र पाका कलाकारहरुबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न थालिएको हो । पहिलो पटक सार्वजनिक कार्यक्रममा मारुनीको भुमिकामा नाचेका अन्नपूर्ण गाउँपालिका– ३ दानाका १६ बर्षिय युवा सन्तोष पुन मनोरञ्जन र रमाईलो संगै पुराना संस्कृति जोगाउन आफुले नाच सिकेको बताउँछन् ।

पाईजा र पुन प्रतिनिधिमुलक हुन् । जिल्लाको हिस्तान, राम्चे, नारच्याङ्, शिख, काफलडाँडा, नागी, रिम, टिकोट, औल, घराम्दी, दोसल्ले, खिवाङ, दग्नाम, चिमखोला, लगायतका ठाउँमा नयाँ पुस्ताहरुले पुख्र्यौली नाच नाच्न थालेका छन् । केही बर्ष अघि सम्म बुढापाकाहरु मात्रै नाच्न र गाउँन सक्ने भएपनि पछिल्लो समय युवाहरु समेत पुख्र्यौलीमा सहभागी हुन थालेको दानाका पुराना कलाकार मन बहादुर पाईजाले बताए ।

आफ्नो मौलिक कला, भाषा र भेषभुषा संरक्षणमा नेपाल मगर संघले अभियान थालेपछि अहिले पुख्र्यौली संरक्षण अभियानले तिब्रता पाएको छ । हराउँदै जान थालेको पुख्र्यौली नाच लगायतका मौलिक संस्कृतिलाई पाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न लागिपरेको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताए ।

‘‘ भाषा,कला र संस्कृतिको संरक्षण हाम्रो पहिलो दायित्व हो, विभिन्न अवसरहरुमा तालिमहरु चलाएका छौँ, केही नयाँ पुस्ताले शिप र क्षमताको विकास पनि गरेका छन्, पुख्र्यौली संस्कृतिबारे थप तालिमहरु सञ्चालन गर्ने योजना बनाएका छौँ’’–अध्यक्ष थजालीले भने । मगर संघले दुई बर्ष अघि बेनीमा पुख्र्यौली कला संस्कृति संरक्षणको लागि दोस्रो पुख्र्यौली नृत्य प्रतियोगिता नै सम्पन्न गरेको थियो ।
                            पुर्खाले सिर्जना गरेको संस्कृति नयाँ पुस्तालाई
बेनी बजारको पिपलचोकका चन्द्र बहादुर गर्वुजा उमेरले ६५ बर्षमा लागे । राम्चे गाउँबाट बेनीमा बसाइ सरेपछि उनले विगत १० बर्ष अघि पुख्र्यौली नाच सिकेका थिए । नयाँ पुस्तामा पुख्र्यौलीबारे रुचि नै नभएको देखेपछि पुराना कलाकारहरुको संगतबाट आफुले मारुनीको भूमिकामा नाच सिकेको गर्वुजाले बताए । ‘‘ पुर्खाले सिर्जना गरेको संस्कृतिको संरक्षणको लागि म अहिलेसम्म नाच्दै आएको छु, नयाँ युवाहरुलाई पनि नाचको ताल, सोरठीको भाकाहरु सिकाउन थालेको छु, अहिले केही युवाहरु यसप्रति आकर्षित पनि छन्,’’–गर्वुजाले भने । पुस्तौदेखि मगर समुदाय विवहा, ब्रतबन्ध, भोज भतेरहरुमा पुख्र्यौली नचाउने चलन रहि आएको छ ।

यस्तो संस्कृतिको संरक्षण र जगेर्ना गर्नको लागि विभिन्न कार्यक्रमहरुमा नाच देखाउने गरेको मादले कलाकार थमप्रसाद गर्वुजा (थमन)ले जानकारी दिए । सोरठी गीत निकै लामो हुने गर्छ । गीतको भाका र नाच्नेहरुको मादलको ताल मिल्नुपर्छ । सोरठी अर्थात पुख्र्यौली ७ रात ७ दिनसम्म पनि गाएर ÷ नाचेर नसकिने मान्यता छ । युवाहरु वैदेशिक रोजगारिमा जाने क्रमले पछिल्लो युवा पुस्ता र पुरानो पुस्ता बिचमा संस्कृति हस्तान्तरणमा ग्याप देखिएपछि तालिम, सहजीकरण लगायतको माध्ययम मार्फत संस्कृति संरक्षणमा जुटेको मगर संघ म्याग्दीका सचिब लोकेश पुन मगरले बताए । ‘‘ पुख्र्यौली संस्कृति पुर्खाको सम्पती र हाम्रो लागि गहना हुन, युवा पुस्तालाई यसप्रति आकर्षित गराउने र संस्कृति जोगाउनेतर्फ संघको ध्यान गएका छ’’– उनले भने ।
                                           संगीतको अनौठो शक्ति
पुख्र्यौली नाच देखाउँदा महिलाहरुले सोरठी भाका गाउने गर्छन । पुरुषहरु कोही महिलाहरुले लगाउने चोली, गुन्यु, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिंगारिएर मारुनी बन्छन भने सोही अनुपातमा शिरमा फेता÷टोपि, भोटो, खादी भांङ्ग्रा, र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउने गरिन्छ । विषेश गरि यो नाच सूरु गर्नुपुर्व सरस्वती जगाउने गरिन्छ । मादलको ताल अनुसार देखाईने यो नाचमा मादलकै तालले गर्दा सरस्वती जगाउँदा चोखो शरिर भएकाहरु एक्कासी काम्ने गर्छन ।

तर पुर्ण रुपमा अचेत नभएपनी स्वतस्फुर्त रुपमा मादलको तालले उनीहरुका शरिरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्यौली नाच्ने कालकारहरुको भनाई छ । नाच सुरु हुनुपुर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गितसंगैको मादलको तालमा काम्न सुरु गर्नेहरुलाई मादलको २२ ताल पुगेपछी मात्रै स्वतस्फुर्त रुपमा काम्ने कम्पन हराउने गरेको पाईन्छ । पत्याउनै गाह्रो पर्ने गरि नृत्य देखाउँदा कार्यक्रममा सहभागी केही मान्छेहरु एक्कासी काम्न सुरु गर्ने यो नृत्य मौलिक संस्कृतिमा रहेको अनौठो बिषेशता हो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l