एबिसी टेलिभिजनको ईन्द्रेणी गलकोट मल्ममा छायांकन

  • १० माघ २०७५, बिहीबार
  • 2187 पटक पढिएको

गलकोट  १० माघ  । एबिसी टेलिभिजनको लोकप्रिय कार्यक्रम ईन्द्रेणी परिवारलाई गलकोट नगरपालिका ७ मल्ममा भव्य स्वागत गरिएको छ । ईन्द्रेणीका सञ्चालक कृष्ण कॅडेल लगायत कलाकार तथा बाद्यवादन समुहलाई स्थानिय नौमति बाजा र मल्मका विभिन्न महिला समुहहरुले फूलमालाले भव्य स्वागत गरेका हुन । स्वागत पछि ईन्द्रेणी परिवारले आफनो कार्यक्रम प्रस्तुत गरेको छ । लोक तथा दोहोरी गायक विष्णु खत्रीको जन्मघर मल्म भल्साङमा कार्यक्रम आयोजित कार्यक्रममा ईन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कॅडेलले विष्णु खत्रीको सांगितिक यात्रा, पारिवारिक जानकारी, बाल्यकाल, सांगितिक यात्राका कठिनाई, चुनौतिको विषयमा अन्तरंग गर्नुभएको थियो । सो अवसरमा गायक खत्रीले आफना सांगितिक प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।

गलकोट क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार सॅगै यहाॅको कला संस्कृतिलाई देश विदेशमा सन्देश पुराउने उद्येश्यले ईन्द्रेणी परिवार कलाकारहरुको उदगम स्थल बागलुङको गलकोट आएको ईन्द्रेणी कार्यक्रमका व्यवस्थापक प्रतिमा कॅडेलले जानकारी दिनुभयो । सो अवसरमा लोक तथा दोहोरी गायक विष्णु खत्री र ईन्द्रेणीका कलाकार मनमाया वाईबा र खिमा रोका मगरले प्रत्यक्ष दोहोरी गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगर, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बल बहादुर खत्री, वडा नं ७ का कार्यवहाक अध्यक्ष लोक बहादुर थापा, स्थानिय नौमति बाजा समुह, विभिन्न महिला समुहहरु, समाजसेवी, युवाहरु लगायतको व्यापक उपस्थिती रहेको थियो । त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले नेशनल टेलिभिजनको लोकप्रिय कार्यक्रम ईन्द्रेणीले गलकोट नगरमै आएर प्रत्यक्ष यहाॅको कला संस्कृति र यहाॅका कलाकारहरुको जीवनीको बारेमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

त्यस्तै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले ईन्द्रेणी कार्यक्रमले मनोरञ्जन सॅगै जनताको सुखदुखमा साथ दिदै आएको र गलकोट क्षेत्रमै आएर यहाॅको कला संस्कृति र कलाकारको बारेमा आम नेपाली दर्शक श्रोतामा पुर्याउनु महत्वपुर्ण कार्य भन्दै प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै आफनो घर आगनीमा ईन्द्रेणी कार्यक्रम सफल पार्न सहयोग गर्नहुने सबैलाई लोक तथा दोहोरी गायक विष्णु खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रमको सञ्चालन पत्रकार थम्मन थापा सन्देशले गर्नुभएको थियो । यसैबिच ईन्द्रेणी परिवारले गलकोट क्षेत्रका पर्यटकीय स्थलहरु कोतमैदान, हरिचौर राज दरबार, गाईघाट झरना, बोहोराफाॅटको स्थलगत अवलोकन गरेको छ । यसभन्दा अघि सर्जक तथा गायक बसन्त थापाको निवास मल्ममा समेत ईन्द्रेणीले आफनो कार्यक्रम प्रस्तुत गर्दै बसन्त थापाको जीवनी, कलाकारिताका चुनौति, अवसर सॅगै प्रत्यक्ष दोहोरी प्रस्तुत गरेको थियो ।