प्रतिष्ठानको संस्थागत विकास नै मुख्य मुद्दा होः अध्यक्ष जिसी

  • ६ माघ २०७३, बिहीबार
  • 2559 पटक पढिएको

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीको हालै अधिवेशन सम्पन्न भएको छ । जसबाट कृष्ण जिसी अध्यक्षमा निर्वाचित भए । लामो समयदेखि लोकसंगीतको क्षेत्र र सञ्चारको क्षेत्रमा कृयाशिल रहेका जिसीको नेतृत्व आएसँगै म्याग्दीको कलाकारिता क्षेत्रले फड्को मार्ने अपेक्षा गरिएको छ ।

लोकसंगीतलाई राम्रोसँग बुझेकाले पनि जीसीको कार्याकालमा केही नयाँ हुने अपेक्षा राख्नु स्वभाविकै पनि हो । म्याग्दी जिल्ला साँच्चै लोकसंगीतको खानीको जिल्लाको रुपमा पनि चिनिन्छ । यहाँको माटो संगीत क्षेत्रको लागि उर्वर मानिन्छ । यसका लागि जिसीको आगामी योजना के छ ? जिल्लाको सांगितिक क्षेत्रलाई कसरी नेतृत्व प्रदान गर्छन् । यीनै विषयमा शिक्षण क्षेत्रमा समेत आवद्ध रहेका राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीसँग सन्दीप खत्रीले गरेको कुराकानीः

m83

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्ष पदमा निर्वाचित हुदाँ कस्तो अनुभूति गर्नु भएको छ ?

खासै त्यस्तो खुसि लागेको छैन । धेरै चुनौतीहरु छन् मेरो अगाडी । निर्बाचन, सर्बसम्मत, पराजय हार जित यी कुरा अब सबैलाई वितृष्णा लाग्ने भैसके । म अध्यक्षमा चयन भैरहँदा यस्तो कुनै गौरबको रुपमा लिएको छैन । मेरो कार्यकालमा कुनै राम्रो काम नर्ग सके भने त्यति बेला गर्बले छाती फुलाउनु पर्ला अहिलेलाई त्यस्तो खासै केहि लागेको छैन ।

तपाईले नेतृत्व लिदै गर्दा म्याग्दीको प्रतिष्ठानको अवस्था कस्तो छ ?

यो प्रश्नको जवाफ दिदा उचित हुने हो कि नहुने हो भन्ने मै म दोधार छु । म्याग्दीमा लोक दोहोरि प्रतिष्ठान छ । काम पनि गरेकै छ । तर म अध्यक्षमा मनोनित भैसकेपछि पुराना रेकर्ड कुनै फेला पारेको छैन, पुराना बैठक पुस्तिका, पत्राचार गर्न लेटरप्याड केहि छैनन्, बैठक बस्न ठाउँ पनि छैन, अहिले रमाइलो दोहोरि साँझ रहेको हललाई बैठक बस्न अनुरोध गरेर प्रयोग गर्दै आइरहेका छौं । म अध्यक्ष बनिसकेपछि कुनै ठूलो काम भएको छैन, तिन बर्से कार्यकालमा संख्यात्मक भन्दा पनि गुणात्मक काम हुनुपर्छ भन्ने मेरो आशय हो । अहिलेसम्म हामी ४ पटक बैठक सम्पन्न गरेका छौं । खास गरि अञ्चल अधिबेशनको आतिथ्यता म्याग्दीले प्रदान गर्न पाउदा हामि खुसि छौं र अधिबेशनलाई सम्पन्न पार्न सबैको साथ् रह्यो यो पहिलो काम हो हाम्रो । यस अर्थमा सम्पूर्ण कार्यसमिति, म्याग्दीबासि प्रति आभार ब्यक्त गर्न चाहान्छु ।

प्रतिष्ठानको बारेमा संक्षिप्त भन्नु पर्दा के भन्नु हुन्छ ?

मेरो बुझाइमा बिबिध संस्कृतिको धनि हाम्रो मुलुक, यहाको मौलिक संस्कृतिको पहिचान लोक संस्कृतको धरोहरको रुपमा रहेको लोक तथा दोहोरीगीतलाई ब्यबस्थित गराउदै र मर्यादित गराउदै नेपालि समाजको मौलिक संस्कृतिको रुपमा रहेको लोक दोहोरीगीतलाई जिबन्त राख्न यस क्षेत्र संग आबद्ध सम्पूर्ण कलाकार एबम सुभेक्षुकहरुको सामुहिक थलो साझा चौतारी हो प्रतिष्ठान । यो संस्थागत रुपमा केन्द्र अंचल र जिल्ला तहमास्थापित भै कार्य गर्ने गर्दछ । जिल्लामा जिल्ला कार्यसमितिले कार्य गर्ने गर्दछ । तर यो साझा चौतारी भैरहँदा यसमा केहि कुरा असामान्य असहज अबस्थाहरु पनि देखिन थालेका छन ।

यहाँ अध्यक्ष भईसकेपछि, म्याग्दीको कलाकारिताको क्षेत्रलाई अगाडि बढाउन कस्तो योजना बनाउनु भएको छ ?

मैले धेरै महत्वाकांक्षी सोच राखेको छैन । मबाट धेरै अपेक्षा गरिएको छ । संस्था भनेको टिम वर्क हो । संस्थागत सोच संस्थागत इमान्दारी, बफादारी, अनुसान सबैमा विकास हुने हो भने काम गर्न सजिलो छ । तर हाम्रो समाज ब्लेमिंग कल्चर बाट ग्रसित छ । अरुलाई दोष थोपार्ने व्यक्तिगत स्वार्थ अगाडी सार्ने, बुझेर पनि नबुझे जस्तो गर्ने प्रवृति छ । यो संस्थाको लागि लाभदायक हुदैन त्यसैले संस्थागत विकास नै मेरो पहिलो मुद्दा हो । म्याग्दीमा पुराना कलाकारको सम्मानको लागि अक्षय कोष स्थापना, नयाँ प्रतिभाको खोजीको लागि भेगीय रुपमा उत्तरी दाना पश्चिम दरबाङ बेनी गरि ३, ४ ठाउमा अडिसन गरेर प्रतिभा पहिचान र प्रबद्र्धनको लागि सहयोग गर्ने लक्ष छ ।

म्याग्दीमा रहेका कलाकारहरुको, गीतसंगीतको अवस्था कस्तो छ ? के गीत गाएर नै बाच्न सकिने अवस्था हो ?

समय फेरिएको छ । आजकल म्याग्दीमा धेरै नयाँ कलाकारहरु यो क्षेत्रमा आइरहनु भएको छ यो राम्रो कुरो हो । म्याग्दीमा खोजि नै गर्ने हो भने मौलिक लोकसंस्कृती अझै लुप्त अबस्थामा छन्, । मौलिकताको खोजि गर्न अझै आवश्यक छ। ग्रामिण क्षेत्रदेखि बेनीबजार हुदै क्षेत्रीय र राष्ट्रिय स्तरसम्म म्याग्दीका अहिलेका कलाकारहरु स्थापित भइ रहनु भएको छ । यो अग्रजहरुको प्रेरणा हो । अर्को कुरा गीत गाएर बाच्न सकिन्छ कि सकिन्न भन्ने कुरा कलाकारमा भर पर्छ । व्यवसायिकता हुन सक्यो भने बाचिन्छ नि । सामान्य रुपमा सोख पुरा गर्न कलाकारिकातामा लाग्ने अनि स्थापित हुन सकिएन भन्ने जमात पनि छ । अध्ययन, अनुसान्धान, खोज, परिश्रम, निरन्तरता, साधना अनि व्यवसायिकता यति भए पछि बाच्न सकिन्न भनेर भन्न मिल्दैन स्थापित हुन यति कुरा हुनेै पर्छ ।

कृष्ण जिसी अध्यक्ष हुँदा वा तपाईको कार्यअवधिमा यहाँका कलाकारहरुले अपेक्षा गरेका र यहाँले पुरा गर्ने जनाएका केही प्रतिबद्धता छन् ?

कलाकारहरुका आफ्नै आकांक्षा छन् चाहना छन् । सबैलाई स्टेज चाहिन्छ, विदेश भ्रमण चाहिन्छ, कार्यक्रमहरु चाहिन्छन । मैले व्यक्तिगत भन्दा पनि सामुहिक हितमा जोड दिनु पर्छ भनेर बैठकमा सदैब आवाज उठाउने गर्छु र निर्देशन दिन्छु । सबैका अपेक्षा पुरा नहुन सक्छन तर मैले केहि संस्थागत कुरा पुरा गर्न मेरो कार्यकालमाहर सम्भब प्रयास गर्ने छु । संस्था, संस्थागत रुपमा चलाउने, म्याग्दीका पुराना कलाकारको सम्मानको लागी सम्मान कोष स्थापना, कलाकार संरक्षण काष, नब प्रतिभा पहिचानको लागि क्षेत्रगत तथा भेगीय स्तरमा अडिसन संचालन गर्ने, जिल्लामा हुने कुनै पनि साँस्कृतिक कार्यक्रममा लोक दोहोरीगीत प्रतिस्ठान संग समन्वय गरेर जाने बाताबरण सृजना गर्ने, साधारण सदस्यता वितरणको फितलो पनलाई अल्ली कसिलो बनाउने (त्यसो त बिधान नै अल्ली खुकुलो छ, सदस्यता वितरण को सबालमा) धेरै छन् गर्नै पर्ने कामहरु, हेरौ कत्तिको सम्भब हुन्छ ।

अब थोरै यहाँको व्यक्तिगत जीवनका बारेमा कुरा गरौ । नेपाली गीत संगीतको क्षेत्रमा यहाँको योगदान र अनुभूति हामीलाई सुनाउन मिल्छ ?

सुनाउन नमिल्ने भन्ने कुरै छैन । म त जति पनि सुनाउछु तर सुन्नेले सुनिदिनु प¥यो नि ? योगदान केलाई मान्ने ? ५ पटक म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका दोहोरी गीत प्रतियोगीतामा भाग लिएका छौं । म लगायत त्यतिबेलाको हाम्रो टिमका किरण सापकोटा सर, प्रकाश पौडेलजी मेरो श्रीमती देबी जिसी याम कुमारी घर्ति । कहिँ पनि प्रथम हुन सकिएन र म्याग्दीको बदनामी पनि गरिएन । हामि भन्दा अगाडिका अग्रज कृष्ण पौडेल, धनकुमारी थापा बीरबहादुर कार्की, नरबहादुर विसी, ध्रुव वानियाँ जस्ता दोहोरीका हस्तीको प्रतिष्ठा कायम राख्दै म्याग्दीको चोटिलो र उत्कृष्ट गीत गाउने गथ्र्यौ ।

बिभिन्न स्टेज कार्यक्रममा सहभागी भइयो र हारे पनि म्याग्दीको दबदबा कायम राख्न सकेका थियौं । केहि सुखद् अनुभूति पनि छन् दुखद पनि छन् । २०५९ सालको बाग्लुंग महोत्सबमा कर्मचारी मिलनकेन्द्र म्याग्दीको प्रतिनिधित्व गरेर बाग्लुंग जाँदा फाइनलमा अचानक भाका परिवर्तन गरियो । वाक ओवर दिएर गाउन नमान्ने तनहुको टिमलाई होटलमा पुगेर जबर्जस्ती बोलाएर हाम्लाई आधाघन्टा स्टेज मै कुर्न लगाएको त्यो दुव्र्यवहार हाम्रो लागि संधै तितो अनुभव हो । व्यक्तिगत रुपमा यो लोक दोहोरि क्षेत्रमा लागेर केहि योगदान दिन सके जस्तो लागेको छैन ७ वटा जति एल्बममा स्वर दिएको छु । एउटा तीज गीत र एउटा लोक भजन गरेर त्यसपछि म आफ्नै बाध्यता र विवसताले निरन्तरता दिन सकिन। विदेशबाट फर्के पछि २ वटा गित रेकर्ड भैसकेका छ्न ।

संक्षिप्तमा, कृष्ण जीसीको कलाकारिता यात्रा कहाँबाट सुरु भयो र प्रतिष्ठानको अध्यक्षसम्म आयो ?

म पर्वतमा जन्मेको मान्छे भए पनि मेरो धेरै समय म्यग्दिमै बित्यो । मेरो नसामा म्याग्दीको भाका बगिरहेको छ। २०४९ सालमा ज्योति युवा क्लब ओख्रेनीे सालिजाले आयोजना गरेको दोहोरी गीत प्रतियोगिता मेरो पहिलो औपचारिक सुरुवात हो । मलाई यस क्षेत्रमा ल्याउने र बाटो देखाउने मेरो आदरणीय व्यक्ति लेखफांट १ धौलापहरा निबासी रुद्र गुरुङ हुनुहुन्छ । त्यसपछि ओख्रेनिका लिल पुन, जस चोचांगी, भिम पुर्जा, लगायतका क्लवका साथीहरुले उत्साह र उर्जा थपी रहनु भयो । २०५१ सालमा म्याग्दीको बेनी झरेपछि म म्याग्दी कै भनेर चिनीएँ र म्याग्दीबाट नै धेरै कार्यक्रममा सहभागी बनेँ ।

पर्वतको लेस्पारदेखि म्याग्दीको नारच्याङसम्म मेरो दोहोरीको सेरोफेरो हो । ति क्षेत्रका मेला पर्वले मलाइ दोहोरि गाउँने किस्ने भनेर चिनायो । त्यसपछि रेडियो प्रसार, पत्रिकारिता हुदै अहिले शिक्षण र फेरी लोकदोहोरी प्रतिष्ठानमा आइ पुगेको छु । यहाँ र पाठकलाई के जानाकारी गराउन मन लाग्यो भने म प्रतिष्ठानको सल्लाहाकार थिए । मेरो अध्यक्ष बन्ने तयारी थिएन मैले के भनेको थिएँ भने “कलाकारको केहि झुण्ड प्रतिष्ठानमा नअटाएको अबस्था छ, यसलाई बिचार गर्नु होला, सबैलाई समावेश गरेर बलियो टिम बनाउनुस्” तर त्यसो भएन । कसैलाई थाहै नदिई अधिबेशन डाकेको थाहा पाएपछि त्यो कु संस्कारलाई चिर्न म देखिएको हो । त्यसैले मैले सुरुमै भनेको छु, यहाँ धेरै चुनौती छन ।

यहाँको परिवार वातावरण नै पूरै सांगितिकमय छ । अहिले शैक्षिक क्षेत्रसँग पनि आबद्ध हुनुहुन्छ । संगीत, परिवार र शैक्षिक क्षेत्रलाई कसरी समय व्यवस्थापन गर्नु हुन्छ ?

अत्यन्तै ब्यस्त रहने गर्छु तर काम गर्ने उत्साह भएमा समय बाधक बन्दैन भन्ने मेरो बुझाइ छ । म व्यस्त रहन चाहने व्यक्ति हु, म अस्तव्यस्त हुन मन पराउदिन, त्यसैले बेलुका समय पाउँदा साथ् छोराछोरीसंग सारंगी, मादल लिएर गीत गाउँन बसी हाल्छु । रमाइलो कुरा के छ भने छोरा मादल बजाउने म सारंगी बजाउदै श्रीमतीसंग दोहोरि खेल्ने छोरीले निर्णायक बन्ने गर्छौं । त्यसैको प्रभाब छोराछोरीमा पनि देखिन थालेको छ । छोरी नाच्छिन, राष्ट्रिय प्रतियोगीतामा उकृष्ट समेत बनेकी छिन । छोरा आधुनिक गीत गाउँ मन पराउछ, मादल र हार्मोनियम बजाउँछ । समय ब्यबस्थापन गर्न अहिले गाह्रो छैन । अर्को कुरा बिहानै कलेज पुग्नु पर्नेभएकोले बिहान देखि साँझ ५ बजेसम्म ब्यस्त भइन्छ । त्यस पछिको समय परिबारसंग हो । हामि ४ जनाको परिबार एकै स्कुलमा छौं । त्यसैले पनि पारिवारिक जिबन त्यति असहज छैन ।

थोरै प्रसंग परिवर्तन गरौ । यो गीतसंगीतको क्षेत्रमा पनि राजनीतिक भागवन्डा त निकै हुँदो रहेछ है ?

गीत संगीतमा राजनीति हुदैन । गीत संगीतमा लाग्ने ब्यक्तिमा राजनीतिक भागबन्डाको सोच हुन्छ । नेपालमा कुन संघ संस्था छन् । जहा राजनीतिक स्वार्थ र हस्तक्षेप हुदैन ? धार्मिक, सामाजिक, बौद्धिक, पत्रकारिता अर्थ, बाणिज्य …. किन कि राजनीति नराम्रो हैन तर राजनीति भन्दा पनि दलगत स्वार्थ हाबी बन्दै गएको अबस्था हो । व्यक्तिमा राजनीतिको भावना हुन्छ तर त्यो संस्थामा छताछुल्ल पोख्नु महा मुर्खता हो । जसको गन्ध प्रतिस्ठानमा पनि देखिएको हो तर मेरो बुझाइ अनुसार कलाकारको रानीति कलाकारिता हो ।

अध्यक्ष बन्नकै लागि मन लागेका सबैलाई सदस्यता बाड्न पनि पाईने रहेछ नी ? सदस्यता वितरणको कुनै सिमा छैन ?

अध्यक्ष बन्नको लागि सदस्यता वितरण भन्दा पनि वितरण गरिएका सदस्यताबाट अध्यक्ष बन्न सकिने हो । बैधानिक रुपमा सदस्यता जति पनि वितरण गर्न पाइन्छ किन कि मैले पैले नै उल्लेख गरेको छु । यसको सदस्यताको बारेमा बिधान मै लेखिएको छ ”लोक गीत संगीतलाई माया गर्ने यसका सुभचिन्तक सदस्य बन्न सक्ने छन” भनेर अब भन्नुस सुभेक्षुक भन्नाले के बुझाउछ ? त्यसैले यो बिधान नै खुकुलो छ । चल खेल गर्ने ठाउँ छोडिदिएको छ । मैले केन्द्रीय अध्यक्षसंग पनि यसको बिषयमा जोडदार आवाज उठाएको छु । अबको केन्द्रीय अधिबेशनमा अस्पष्ट बुंदा र शब्दलाई संसोधन गरेर जानै पर्छ । अब जति पनि वितरण गर्ने भन्ने सबाल छ मैले के उदहारण दिन चाहन्छु भने, अघि बढ्दा पछाडिको गोरेटो मेट्नु हुन्न कथं कदाचित फर्केर आउनु प¥यो भने कुन बाटो हिड्ने ? यिनै र यस्तै असजिला, अफ्ठ्यारा कुरालाई चिरफार गर्न त मैले बागडोर सम्हालेको हु नि ? जिल्लालाई शसक्त, बिधि र नीति नबुझ्नेलाई बुझाउन ।

गीतसंगीतको क्षेत्रलाई राजनीति हस्तक्षेपबाट टाढा राख्न सकिदैन भन्या ?

जसले नजिक ल्याइरहेको छ उसैले टाढा राख्न सक्छ । एउटा स्वतन्त्र पत्रकारको नजरले तपाईं आफै हेर्नुस गीत संगीतमा धेरै थोरै संलग्न व्यक्ति कतिजना छन् वर्तमान कार्य समितिमा । यदि तपाईंलाइ यो व्यक्तिलाई कहिल्यै पनि गाएको, नाचेका,े बजाएको, अभिनय गरेको जस्तो लाग्दैन भने ति व्यक्ति कहाँबाट कसरि आए ? कुरो प्रष्टै छ नि ! जिल्ला अधिबेशन भइरहंदाको माहोल स्मरण गर्ने हो भने संसदीय निर्वाचन भन्दा फरक थिएन । म उमेदवारी दिई रहंदा मलाइ बामपन्थी धारको भनेर टिका टिप्पणी गरियो, जबसम्म दलगत संकीर्ण सोच त्याग्न सकिन्न तबसम्म दोहोरीगीत प्रतिष्ठान मात्रै हैन कुनै पनि सामाजिक साँस्कृतिक, बौद्धिक, धार्मिक, पत्रकारिता, अर्थ, वाणिज्य लगायतका संघ संस्था राजनैतिक हस्तक्षेपबाट अछुतो रहन सक्दैन ।

अन्त्यमा केही छ ?

समृद्ध समाजको लागि तपाइँको कलम कहिल्यै नरोकियोस । स्वतन्त्र निस्पक्ष पत्रकारिताको रुपमा तपाइको अनलाईन पत्रिका स्थापित होस् शुभकामना ।