मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित

  • ९ माघ २०७५, बुधबार
  • 2093 पटक पढिएको

निरज थकाली
मुस्ताङ ९ माघ (ठिनी)  मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । बर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते लगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । एक फिट सम्म बाक्लो हिउँ जमेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन् । यातायातका साधन चलिरहेका छन् ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको ठिनीका बासिन्दा सुवास थकालीले बताउनुभयो । घरभित्रै आगो तापेर बसेका छन् । गाइ, भेडा, चौरी, च्याङग्रा लगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन् । बर्षासँगै हावाहुरी पनि चलेको छ । पर्यटकीय स्थलहरु पनि सुनसान छन् । जोमसोम–पोखरा हवाई उडान पनि हिमपात, हावाहुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । मंगलबार देखि हवाई उडान नभएको तारा एयरका कर्मचारी दुर्गा पुनले बताउनुभयो । तारा एयरले पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा उडान भर्ने गरेको थियो ।

सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिती पनि न्युन छ । सडक, पुल, भवन, सिचाई लगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दाहरु कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेशीका न्यानो स्थानमा झरेका थिए । बर्षा र हिमपातले कृषकहरुमा भने खुसीयाली छाएको छ । यो वर्ष मुस्ताङमा तेस्रो पटक हिउँ परेको हो । वर्षाभएपछि सिचाई हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका २ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताउनुभयो ।

हिउँ पग्लीएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषकहरु बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पने शितोष्ण बागबानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।