मानसीक रोगीहरुको उपचारमा राज्यले प्राथमिकता नदिएको गुनासो

  • २ बैशाख २०७४, शनिबार
  • कमल खत्री
  • 2709 पटक पढिएको

म्याग्दी, २ बैशाख । मानसीक रोगीहरुको उपचारमा राज्य उदाशिन भएको म्याग्दीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । संरक्षक समाज म्याग्दीद्धारा शनिवार बेनीमा आयोजित दोस्रो संरक्षक दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरुले मानसीक रोगीहरुको उपचार सम्भव रहेपनि ओषधी नियमित सेवन गर्नुपर्ने र औषधीको मुल्य महंगो र जिल्लामा सो सम्बन्धि उपचार र औषधी नपाउने समस्या रहेको गुनासो गरेका थिए ।

    संरक्षक संस्था म्याग्दीका अध्यक्ष निशा महत जिसीको अध्यक्षता सम्पन्न कार्यक्रममा सांसद नवराज शर्माले मानसीक रोगका विरामीहरुका अभिभावकहरु संगठीत हुनुले यस रोगको बारेमा जनचेतना अभिवृद्धि गराउन सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले राज्यले अन्य स्वास्थ्य रोगहरुलाई जस्तै मानसीक रोगको उपचारमा पनि प्राथमिकता दिनुपर्ने बताउँदै मानसीक स्वास्थ्यको विषयमा स्वास्थ्य नितीमा समावेश गराउन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसी, संरक्षक संस्था बागलुङका अध्यक्ष शर्मीला थापा, उपाध्यक्ष ईन्द्र शर्मा सापकोटा, म्याग्दीका उपाध्यक्ष शोभा नेपाली,  र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मानसीक रोगबाट पिडित भएका व्यक्तिहरुको उपचार महंगो हुने भएकाले राज्यले निशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले जिल्ला स्तरको अस्पतालमा मानसीक रोग सम्बन्धि औषधी उपचारको व्यवस्था हुनुपर्ने, स्वास्थ्य नितीमा मानसीक रोगको विषयमा सम्बोधन हुनुपर्नेमा समेत जोड दिनुभयो  ।


कार्यक्रममा जिविकोपार्जन शिक्षा तथा विकास समाज (लिड्स)का कार्यकारी निर्देशक पदमराज श्रेष्ठले मानसीक रोगीको औषधी उपचार सम्भव रहेकाले राज्यले उनीहरुको निशुल्क उपचारमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, म्याग्दी र बागलुङमा २ हजार ३ सय जना मानसिक रोगबाट पिडित भएकाहरुको पहिचान भएको छ ।  लिड्सले म्याग्दी र बागलुङमा विगत ७ वर्षदेखि मानसीक रोगीको निशूल्क औषधी उपचार तथा संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउनका लागि कार्यक्रम गरिरहेको छ ।

लिड्सकै सहयोगमा मानसिक रोग संगै अरुको साहरामा जिवन विताईरहेका अपांगता भएकाहरुको अभिभावहरुलाई समावेश गरि म्याग्दी र बागलुङमा संरक्षक समाज गठन गरिएको छ भने उनीहरुको आयआर्जनको लागि दुवै जिल्लामा कृषि सहकारी समेत सञ्चालनमा ल्याईसकिएको कार्यक्रममा जानकारी गराईएको थियो । मानसीक रोगीको हेरचाहमा संलग्न संरक्षकहरु आवद्ध संरक्षक संस्थाले दोस्रो संरक्षक दिवसको बेनीमा सन्देशमुलक ¥याली समेत निकालेको थियो ।

समाजका सचिब देवि आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत देखाइएको थियो भने कार्यक्रमको सञ्चालन संचारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l