धवलागिरी गाउँपालिकाद्धारा निर्माण उपकरणको भाडा निर्धारण

  • ६ माघ २०७५, आईतवार
  • 1214 पटक पढिएको

सन्तोष गौतम
बेनी ६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक निर्माणमा प्रयोग हुने एक्साभेटरको भाडादर कायम गरेको हो ।

गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुमा बकेट प्रयोग गर्दा प्रतिघण्टा पाँच हजार दुई सय रुपैयाँ र ब्रेकर प्रयोग गर्दा प्रतिघण्टा छ हजार दुई सय रुपैयाँ भाडा कायम गरिएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उपभोक्ता समितिहरुले घटिघटाउको आधारमा एक्साभेटर भाडामा लिनुपर्नेछ । निर्माण उपकरणको प्रयोगलाई व्यवस्थित, पारदर्शी र एकरुपता काय गर्न भाडादर काय गरिएको अध्यक्ष पुनले बताउनुभयो । अहिले काय भएको भाडादर गत वर्षको भन्दा कम हो ।

यसैगरी पर्यटकहरुको तथ्याङ्क राख्ने, चेकजाँच, परामर्श र अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्न २ नम्बर वडा लमसुङ र ४ नम्बर वडा मुदीको जेल्तुङमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने निर्णय भएको छ । जेल्तुङ धौलागिरि हिमाल आरोहण र चक्रीय पदमार्ग भित्रने मुख्य नाका हो ।  लमसुङ गुरील्ला पदमार्ग, ढोरपाटन शिकार आरक्ष र गुर्जा जाने नाकामा पर्छ । शनिबारका लागि तय भएको गाउँसभा स्थगित गरि माघ १३ गते गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गर्ने निर्णय भएको छ ।

पश्चिम म्याग्दीको पर्यटन, जलविद्युत, वनपैदावार, कृषि सम्भावना, विकासको समस्या र चुनौति प्रति प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउन लागिएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । गाउँपालिकाले सञ्चालन गर्ने झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम कार्यान्वयन गर्ने गैरसरकारी संस्था छनौटका लागि इञ्जिनियर को नेतृत्वमा समिति गठन गरेको बैठकले अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धी कार्यबिधी पारित गरेको छ ।

कार्यपालिका बैठकमा पेश भएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी एक करोड ८८ लाख रुपैयाँ बिनियोजन गर्ने र जुवातास नियन्त्रण सम्बन्धि प्रस्तावको आगामी गाउँसभामा छलफल गर्ने निर्णय भएको प्रवत्ता छन्त्यालले बताउनुभयो ।