नेपाल जेसीजका राष्ट्रिय अध्यक्षलाई म्याग्दीमा स्वागत

  • ६ माघ २०७५, आईतवार
  • 1598 पटक पढिएको

म्याग्दी । नेपाल जेसीजको वर्ष २०१९ का लागि नव निर्वाचित राष्ट्रिय अध्यक्ष महेश पौडेललाई म्याग्दी जेसीजले स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अध्यक्ष पौडेलको स्वागत तथा सम्मान गरेको हो । म्याग्दी जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष पौडेलले म्याग्दी शालिनता, सहनशिलता, मित्रताको खानी भएको बताए । म्याग्दी जेसीजले राष्ट्रिय रुपमा समेत आफ्नो नेतृत्व प्रदान गरेर क्षमता देखाईसकेको बताए । पौडेलले जेसीजलाई समय अनुसार परिवर्तन गर्दै लैजानु पर्ने बताए । उनले भने“हामी जेसीजहरुले समय अनुसार आफुलाई परिवर्तन गर्दै लैजानु पर्छ । हिजो हामीले गरेका नयाँ नयाँ कुराहरु अन्य संघ संस्थाले अनुसरण गर्दै आए, अब पनि हामी फेरी नयाँ नयाँ कुराको सिर्जना गर्नुपर्छ ।” त्यस्तै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले देश नयाँ युगमा प्रवेश गरीसकेकाले हामी पनि नयाँ युग अनुसार चल्नु पर्नेमा जोड दिए । उनले भने “ जब सम्म हामी युवाहरु नयाँ युगमा प्रवेश गर्दैनौ, राष्ट्र नयाँ युगमा प्रवेश गरेर मात्र हुँदैन” ।


कार्यक्रममा गोरखा जेसीज वर्ष २०१८ का अध्यक्ष उमेश गुरुङले समेत बोलेका थिए । विभिन्न शाखाबाट आएका वर्ष २०१८ र १९ का अध्यक्षहरु, म्याग्दी जेसीजका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा साधारण सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम वर्ष २०१९ का नव निर्वाचित अध्यक्ष खम थापा मगरको स्वागत तथा वर्ष २०१९ का महासचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शाखा अध्यक्ष कमल विश्वकर्माले राष्ट्रिय अध्यक्ष लगायत विभिन्न शाखाबाट आएका अतिथिहरुलाई स्वागत तथा मायाको चिनो प्रदान गरेका थिए ।