यस्ता भए बेनपाको कार्यपालिका बैठकका निर्णय

  • ५ माघ २०७५, शनिबार
  • 2524 पटक पढिएको

बेनी ५ माघ । बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ पारित गर्ने निर्णय गरेको हो ।

बैठकमा क्याम्पसचोकमा पाखोबाट आउने बाढीको समस्या समाधानका सहज निकास र व्यवस्थापनका लागि अध्ययन गर्न बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीको नेतृत्वमा गठन भएको कार्यदलले प्रतिवेदन प्रस्तुत गरेको थियो ।कार्यदलको सिफारीस अनुसार क्याम्पसचोकका बिष्णु शर्मा र मिन सापकोटाको घर खरिद गरी बाढीको सहज निकास गराउने र वडा कार्यालय स्थापना गर्ने निर्णय भएको नगर कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका बराइलीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारसँग लागत सहभागितामा नगरपालिका क्षेत्रबाट काठका पोललाई विस्थापित गरेर स्टीलका पोल राख्ने योजना कार्यान्वयन गर्ने, बेनपा ४ तातोपानी र ९ गलेश्वरमा प्रहरी चौकीको भवन निर्माण निर्माणमा लागत सहभागिता जनाउने निर्णय भएको छ ।
सम्पति तथा भूमिकर सम्बन्धी विबाद समाधानका लागि नयाँ सिमा र मापदण्ड निर्धारण गरिएको छ । बेनपा २ पिपलडाँडामा शान्ति संग्रहालय बनाउन सम्बन्धित निकायमा सिफारीस गर्ने र विपद् व्यवस्थापन तथा आपतकालिन अवस्थाको लागि आवश्यक वडाहरुमा सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा हेलीप्याड बनाउने निर्णय गरिएको छ ।

बेनीको खुल्ला मञ्चमा सार्वजनिक शौचालय र बेनपा ६ को निलदहमा पार्क निर्माण गर्न सहरी विकास तथा भवन विभागमा सिफारिस गर्ने निर्णय भएको प्रवत्ता बराइलीले बताउनुभयो । यही माघ ९ गते चौथो नगरसभा गर्ने निर्णय गरेको नगरपालिकाले माघ १८, १९ र २० गते राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्न बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

बेनपा ७ मंगलाघाटका रेशम बानिया र सम्झना पन्थ तथा बेनपा ४ का केदार आचार्य र सुनिता सुवेदीले जन्माएका तीम्ल्याह बच्चाहरुको उपचारका लागि तीस÷तीस हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको छ ।

संघीय सरकारको एक व्यक्ति एक बिरुवा रोपण अभियान अन्तरगत बेनपा ३ भकिम्लीका ८१५ घरमा किबिका बिरुवा रोपीएको जानकारी सरकारलाई गराउने निर्णय पनि गरेको कार्यपालिकाले बिहीबार मालढुङ्गामा भएको बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।