गण्डकी प्रदेश सरकारबाट स्विकृत योजना कार्यान्वयनको तयारीमा

  • ४ माघ २०७५, शुक्रबार
  • 2216 पटक पढिएको

बेनी, ४ माघ । गण्डकी प्रदेशको सरकारले म्याग्दीको पूर्वाधार विकास सम्बन्धी विभिन्न योजनामा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न थालिएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश सरकार मार्फत विनियोजन भएको बजेटलाई कार्यान्वयनको लागि स्विकृत भएका योजनाहरुको स्थलगत निरिक्षण गरिएको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र मरहठा, योजना शाखा प्रमुख होमनाथ पौडेल र यातयात पुर्वाधार निर्देशनालयका निर्देशक रामेश्वर मरहठा लगायतको टोलीले प्रदेश सरकार मार्फत बजेट विनियोजन भएका ठुला आयोजनाहरुको स्थलगत निरिक्षण गरेका छन् ।

प्रदेश सरकारले बहुबर्षिय ठेक्का लगाउने र एक निर्वाचित एक सडक अन्र्तगत बजेट विनियोजन भएका योजनाहरुको कार्यान्वयनको लागि स्थलगत रुपमै निरिक्षण गरि योजना कार्यान्वयन गर्ने पूर्वाधार विकास कार्यालयको तयारीबारे जानकारी लिईएको मन्त्रालयका सचिब मरहठाले बताउनुभयो । टोलीले गलेश्वर–पिप्ले– भगवती सडक, बेनी–गलेश्वर, बेनी–दरबाङ सडक, जिल्ला समन्वय समितिको सभाहल लगायतका योजनाहरुको स्थलगत निरिक्षण गरेको थियो ।

गण्डकी प्रदेश मार्फत जिल्लामा बजेट विनियोजन भएका योजनाहरुको प्रभाबकारी कार्यान्वयनको लागि गण्डकी प्रदेशका साँसद विनोद केसीले टोलीलाई पूर्वाधार निर्माणको योजनाहरुलाई उपलब्धी देखिने गरि कार्यान्वनयमा जुट्न आग्रह गर्नुभयो । सो क्रममा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाले म्याग्दी र मुस्ताङका विभिन्न ६ वटा योजनाहरुलाई ठेक्का लगाउनको लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिनुभयो ।

सडक र मोटरेवल पुल योजना कार्यान्वयनका लागि मन्त्रालयबाट अख्तियारी आएका सबै योजनाहरुको कार्यान्वयको लागि विस्तृत अध्ययनको काम भैरहेको कार्यालय प्रमुख ढुंगानाले बताउनुभयो । म्याग्दी र मुस्ताङका सडक र पुल निर्माणका लागि चालु आर्थिक वर्षमा करिब २५ करोड रुपियाँ बजेट प्राप्त भएको कार्यालयले जनाएको छ ।

म्याग्दीमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन र प्रदेश सभा सदस्य विनोद केसीको पहलमा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत गलेश्वर – पिप्ले– भगवती हुँदै बेग जाने सडकलाई दुइ करोड १० लाख, बेनी – दरवाङ– कल्लेनी– ताकम– मुना– जलजला सडकलाई दुइकरोड १० लाख प्रादेशिक सडक ‘क’ बर्ग अन्र्तगत बेनी – दरवाङ हुँदै देविस्थान धारापानी ताकम ढोरपाटन सडकलाई एककरोड ३५ लाख बजेट विनियोजन भएको छ ।

त्यसैगरि प्रादेशिक सडक ‘ख’ बर्ग अन्र्तगत दरवाङ– दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ्ग हुँदै गुर्जा सडक, दरवाङ– विम–मराङवेसी–मल्कबाङ–पाखापानी सडक र दरवाङ –कल्लेनी ताकम लम्सुङ ढोरपाटन सडकलाई रु एक÷एक करोड बजेट विनियोजन भएको छ ।  प्रदेश सरकारले म्याग्दीमा पाँच वटा मोटरेबल पुल बनाउन पचहत्तर लाख रुपैयाँका दरले तिन करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । बिम–मराङ सडकको अर्गला स्थित मराङखोला, दरवाङ–बिम–ताकम सडक अन्तरगत कल्लेनीमा म्याग्दी खोला, दरवाङ धारापनी ताकम सडक अन्तरगत दाङखोला ,रिम काफलडाँडा सडक अन्र्तगत संसारीखोलामा मोटरेवल पुल र दरबाङ– निस्कोट सडक अन्र्तगत छ्यारछ्यारेमा बेलि ब्रिज निर्माणका लागि डिपिआरको काम सुरु भएको छ । डिपिआर आएपछि चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रियामा लगि काम सुरु गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।