बेनीमा योग दिवस मनाइयो (फोटो फिचर)

  • १ माघ २०७५, मंगलवार
  • 1989 पटक पढिएको

सन्तोष गौतम
बेनी १ माघ । जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंगलबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । ¥याली सहित बेनी बजार परिक्रमा गरेपछि आयोजित औपचारिक कार्यक्रममा अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको थियो ।

म्याग्दीमा पछिल्लो समय योगप्रती आकर्षण बढेपनि पूर्वाधारको अभाव भएको सहभागीको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले स्वास्थ्य र सकारात्मक भावनाको विकास गराउन योगको आवश्यकता रहेको बताउदै म्याग्दीमा योगका लागि पूर्वाधारको व्यवस्थापनका लागि स्थानीय तहहरुले पहल गर्नुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले योग रोग नियन्त्रणका लागि मात्र नभएर सकारात्मक भावनाको विकास गराउने उपयुक्त माध्यम भएकाले योगको प्रर्वद्धनका लागि पूर्वाधार व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नियमित योग अभ्यास गरेमा उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगबाट बच्न सकिने बताउँदै अस्पताल बनाउन जस्तै रोग लाग्नबाट बचाउन योग शिक्षाको महत्वका बारेमा जनचेतना फैलाउनु पनि महत्व दिनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योग केन्द्र सञ्चालनका लागि बजार भित्र उपयुक्त स्थान र पूर्वाधारको व्यवस्था गर्न पहल भइरहेको बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख किरनकमल बस्ताकोटीले मौलिक आयुर्वेद र योगको संरक्षण र उपभोगमा जोड दिनुभयो ।

कार्यक्रममा नविन आनन्द योग केन्द्रको तर्फबाट बेनीमा योगाश्रम भवन निर्माणका लागि तीन आना खरिद र तीन आना दान गरेर जग्गा जुटाएको र त्यसमा भवन निर्माणका लागि सहयोगको प्रस्ताव सहित नगरप्रमुख श्रेष्ठलाई मागपत्र बुझाइएको थियो ।

स्थाई पूर्वाधारको अभावमा होटलको सभाहल, मन्दिरका सत्तल, चलचित्र मन्दिरमा योग कक्षा सञ्चालन गर्नुपरेको नविन आनन्द योग केन्द्रका उपाध्यक्ष सुरेन्द्रराज शर्माले बताउनुभयो । केन्द्रका अध्यक्ष नविन जुक्जालीको अध्यक्षता र हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।