सम्झौता विपरित बगर उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना

  • ३० पुष २०७५, सोमबार
  • 1362 पटक पढिएको

सन्तोष गौतम
बेनी ३० पुष । बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरबाट सम्झौता विपरितका उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना गरिएको छ । जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नगरपालिकासँग भएको सम्झौता विपरित ब्याकुहोलोडर उपकरण प्रयोग गरेर ढुङ्गा गिटी र बालुवा उत्खनन् गरेकाले टाकुरा विकास विल्डर्सलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

बेनपा ६ डम्मरामा पर्ने निलदह स्थित म्याग्दी नदीको बगरमा नदीजन्य बस्तुको उत्खनन् गर्दै गरेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालयले ब्याकुहोलोडर र ट्याक्टर नियन्त्रणमा लिएको थियो । नगरपालिकासँग मजदुर प्रयोग गरेर उत्खनन् गर्ने सम्झौता गरेका निर्माण कम्पनीले सम्झौता विपरित उपकरण प्रयोग गरेकाले पन्ध्र हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको अनुगमन समितिका सदस्य प्रजीअ लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको अन्य बगर क्षेत्रमा पनि सम्झौता विपरित उपकरण प्रयोग गरेर नदीको प्राकृतिक स्वरुप, धार र कटानको जोखिम हुने गरेर जथाभावी रुपमा उत्खनन् भैरहेको गुनासो आएकाले अनुगमन गरि दश दिनमा प्रतिवेदन पेश गर्न सहायक प्रजिअ लीलादेवी अर्यालको संयोजकत्वमा उपसमिति समेत गठन भएको छ ।

टाकुरा विकास विल्डर्सका सञ्चालक कुबिरकुमार श्रेष्ठले बेनपा २ को बगरफाँट र ३ नम्बर वडामा पर्ने दूधेखोलाको बगरमा ठेक्कानै नलागेको बगर उत्खनन् भैरहेको बताउँदै उपकरण प्रयोग गर्न नपाए घाटा पर्ने भएकाले नगरपालिकामा सम्झौता रद्द गरेर आफूले बुझाएको राजस्व फिर्ता माग्ने बताउनुभयो ।