राष्ट्रपति रनिङ शिल्डको उपाधि बिजेता खेलाडीहरुलाई प्रभा माविद्धारा सम्मान

  • ३० पुष २०७५, सोमबार
  • 2466 पटक पढिएको

म्याग्दी, ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि बिजेता प्रभा माविले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरि विद्यालयले प्रतियोगितामा विभिन्न पदक बिजेता तथा सहभागी खेलाडी संगै खेलशिक्षक र प्रशिक्षकहरुलाई समेत सम्मान गरेको हो ।

भलिबल, एथलेटिक्स र कबड्डीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले अन्तपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिजेता बन्दै कप र मेडल सहित नगद पचास हजार रुपैयाँ नगद पुरस्कार हात पारेको थियो । खेलाडीहरुको हौँसला बढाउनको लागि विद्यालयले सम्मान गरेको प्रधानध्यापक भगवान बहादुर कार्कीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य एवम वडा नम्बर ४ नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीको अध्यक्षता, सर्वोदय मावि स्रोत केन्द्रका स्रोत व्यक्ति जयराम सुवेदीको प्रमुख आतित्यतामा सम्पन्न कार्यक्रममा प्रधानध्यापक कार्कीले स्वागत र सहायक प्रधानध्यापक लोक बहादुर फगामीले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै खेल शिक्षक दुर्गालाल रोका र टिकाराम भण्डारी संगै खेल प्रशिक्षक इन्द्र थापा, प्रदिप तिलिजा, भविन पुन, भविन पुर्जा र सुकराम पुनलाई समेत सम्मान गरिएको थियो ।