पर्यटन विकासको लागि माघेसंक्रान्तिको अवसरमा मुुसुङमा पर्यटन मेला सुरु ( फोटो फिचर)

  • २९ पुष २०७५, आईतवार
  • कमल खत्री
  • 2080 पटक पढिएको

म्याग्दी २९ पुस । बेनी नगरपालिका–३ मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस बर्षदेखि पर्यटन मेलाको रुपमा सञ्चालन गर्न सुरुवात भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय, कृषि, पशुपालन लगायतको सम्भावनाहरुको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।

स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाईमा मुसुङमा सुरु भएको माघेसंक्रान्ति साँस्कृतिक एवम पर्यटन मेलाको आईतवार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम, बेलढुंगा, डोले लगायतका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन पूर्वाधार तयार गर्न सरोकारवालाहरुको ध्यानकर्षण गराउन मेलाले सहयोग पुग्ने वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

पर्यटन मेलाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटन क्षेत्रको विकासले स्थानीयको जिवनस्तर उकास्न ठुलो सहयोग पुग्ने बताउँदै लुकेर रहेका पर्यटकीय क्षेत्रहरुको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रचार प्रसार र पर्यटन पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र संघिय सरकार मार्फत त्यसतर्फ बजेट विनियोजन गर्न आबश्यक रहेको बताउँदै यस क्षेत्रको पर्यटन विकासमा सरोकारवालासंग आबश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै समुदाय र सरकारी पक्ष मिलेर काम गरेमा मात्रै विकास दिगो र टिकाउ हुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले परम्परागत मेलापर्वलाई कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन हुने गरि सञ्चालन गर्नु सकरात्मक पक्ष रहेको बताउँदै मेलापर्वमा हुने नराम्रो पक्षलाई निरुत्साहित गर्न आयोजकलाई सुझाब दिनुभयो ।

माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विविध खेलकदु र साँस्कृतिक कार्यक्रम हुने मेला आयोजक समितिका संयोजक तारामिलन छन्त्यालले बताउनुभयो । स्वर्गाश्रम युवा कल्वका अध्यक्ष भिमप्रसाद पुनको अध्यक्षता र शिक्षक भोज जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपा ३ का वडा अध्यक्ष पुनले धनु लेकालीले तयार पार्नुभएको भकिम्लीको विकासको सम्भावना र समस्याहरु बिषयक विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

अवधारणपत्रमा सुन्तला गाउँ राखु, मगर बस्ती भकिम्ली, डोले, मुसुङ हुदै धार्मिक र हिमशृङखला तथा दृष्यअवलोकनका लागि सम्भावना बोकेको स्वर्गाश्रम र बेलढुङ्गाको पर्यटन विकासमा सरोकारवालाको साथ आवश्यक रहेको उल्लेख गरिएको छ । बेनी मुसुङ्ग हुदै स्वर्गाश्रम सम्म व्यवस्थित सडक र बेलढुङ्गालाई पदमार्गले जोड्ने स्थानीयले योजना बनाएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l