साहित्यकार सन्ध्याले लेखिन बेनीमा आएर यस्तो मार्मिक कविता

  • २८ पुष २०७५, शनिबार
  • 3341 पटक पढिएको

“नदी जस्तै एउटी नदी”

काली तिम्रो
कलाले त बनेको छ म्याग्दी ,
यो कञ्चन जल
जस्तै छन् यहाँका मान्छेहरू ,
तिम्रा छालहरुजस्तै
शुन्दर छन नानी बाबुहरु
तिम्रो किनाराको रेगिस्तानमा
प्रकृतिले कुँदेर बनाएका थुप्राथुप्रा
बालुवाका थुम्काहरू जस्तै देखिने भित्ताहरू,
काली!आमाको काख जस्तै
वात्सल्य रहिरहोस
सधैंभरि यसैगरी
मनभरि यिनै चाहानाहरू छन्
प्रिय काली।
के फरक छ तिमी र म मा
तिमी बग्दै,बग्दै समुन्द्रसम्म पुग्छौं
तिम्रो प्रदेश त समुन्द्र हो ,
भर्खरै अन्माउन लागेको बेहुली जस्तै
तिम्रा पनि त चोटहरू छन्
पिडाहरू छन्
वियोगका मुर्छनाहरू छन्,
निलो आकाश जहाँ
ताराहरू बिलाउछन्
त्यसरी नै समुन्द्रमा बिलाउँछौ तिमी
उस्तै छ कहानी
सपना जस्तै देखिने
रहरहरू पटक पटक थिचिन्छन, मिचिन्छन्
चट्याङ पर्छ छातीमा
खिईन्छ तिम्रो किनारजस्तै

चट्टान झैँ छिद्र छिद्र हुन्छ
यो मनहो!त्यसैदिन हो
नदी बग्न लागेको
त्यसै दिनदेखि हो ,जुन दिन
जन्मिई छोरी र अन्मियो डोली
कञ्चन जलमा जहरिलो बल्छी थाप्ने
मान्छेहरू सँग त्यसै दिन हो जुध्नु परेको !
तिमी घर जस्तै देखिने मुल
फुट्न नपाउँदै बगिदिन्छौ,
त्यसरी नै बगिरहन्छ यो हृदय
मौन म मनमनै गुन्दैछु ,
आखिर
कति गार्‍हो छ है नदी बन्न?

                                                                  सन्ध्या सापकोटा