मालिका गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण, नेपालकै पहिलो सबै वडा हेलीप्याडयुक्त गाउँपालिका

  • २७ पुष २०७५, शुक्रबार
  • कमल खत्री
  • 3997 पटक पढिएको

 

म्याग्दी २७ पुस ।  म्याग्दीको मालिका गाउँपालिकामा ‘एक वडा एक हेलीप्याड’ निर्माण भएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर ४ ओखरबोटमा हेलीप्याड निर्माण भएपछि गाउँपालिकाको ७ वटै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण गर्ने काम सकिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोट, २ रुम, ३ डाँडागाउँ, ४ को ओखरबोट, ५ को देविस्थान, ७ को बिम डाँडागाउँमा हेलीप्याड निर्माण गरिएको छ भने वडा नम्बर ६ दरबाङको छ्यारछ्यारेमा यस अघि नै हेलिप्याड निर्माण भएको थियो । मालिका गाउँपालिकामा  शसस्त्र प्रहरी बलको गलेश्वर बेस क्याम्पका प्रहरी नायव उपरीक्षक अनिल कार्कीको नेतृत्वमा खटिएको टोलीले ढलान गरेर एच आकार सहितको हेलीप्याड बनाएका छन् ।

आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउन जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाको एक नगरपालिका र ५ गाउँपालिकाका ४५ वटै वडामा हेलिप्याड बनाउने निर्णय गरेको थियो । गाउँपालिका र वडा कार्यालयले उपयुक्त जग्गा छनौट गरेपछि सुरक्षा निकाय, जनप्रतिनिधि, युवा क्लब र स्थानीयबासीको सहयोगमा हेलीप्याड निर्माण गरिएको हो । सबै वडामा हेलीप्याड निर्माण गर्ने मालिका गाउँपालिका नेपालकै पहिलो स्थानीय तह बनेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनभयो ।

‘‘ गत कात्तिक अन्तिमबाट जिल्लाको हरेक वडामा हेलिप्याड निर्माण गर्ने अभियान सुरु भएको थियो, मालिका गाउँपालिका हरेक वडामा हेलीप्याडयुक्त बनेको छ, अन्य स्थानीय तहमा समेत हेलिप्याड बनाउने अभियान अघि बढेको छ’’–प्रअिज अधिकारीले भन्नुभयो । अहिले मंगला गाउँपालिकाको हिदी र कुहुँको महभिर, रघुगंगा गाउँपालिकाको पाखापानीमा हेलिप्याड निर्माण भैसकेको छ ।

सबै वडामा हेलिप्याड निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तिहरुमा आकस्मिक बिरामी, दुर्घटना, प्राकृतिक पकोप र विपदको समयमा उद्धार तथा राहतको कामलाई सहज हुने अपेक्षा गरिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । हेलीप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राबिधिक सहयोग गरेको छ । गुल्मले रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा ‘एक वडा एक हेलिप्याड’ निर्माणको लागि तयारी गरिरहेको छ । यसैबिच अर्थुङ्गे स्थित नेपाली सेनाको गुल्म परिसरमा रहेको हेलिप्याडलाई स्तरोन्नती गरि जिल्लामै पहिलो रात्रीकालिन अवतरणयुक्त ‘नाईट ल्याण्डीङ्ग’ हेलिप्याड निर्माण भएको गुल्मपति राजन दाहालले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l