म्याग्दीमा निर्वाचन सुरक्षाका लागि मोटरसाइकल गस्ती

  • ३१ चैत्र २०७३, बिहीबार
  • 2179 पटक पढिएको

म्याग्दी, ३१ चैत । आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ ।  निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न  प्रहरी जुटेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै  जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवारबाट जिल्लामा मोटरसाइकल गस्ती सुरु गरेको हो  ।

राजनीतिक दल तथा जनता चुनावको लागि जुटेसँगै सुरक्षालाई मध्यनजर गरी सात वटा मोटरसाइकलमा गस्ती सुरु गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले  जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको मोटरसाइकलबाट सडक यातायात पुगेका ग्रामिण क्षेत्रहरुमा  तत्काल पुग्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सुरक्षाका हिसावले संवेदनशिल क्षेत्रहरुमा मोटरसाइकलबाट गस्ती गरिने प्रनाउ खड्काले बताउनुभयो ।  निर्वाचनका समयमा हुने अवान्छीत गतिविधिहरुलाई तत्काल नियन्त्रण गर्न सहयोग पुगोस भनेर यसपाली प्रधान कार्यालयले  थप ४ वटा मोटरसाइकल उपलब्ध गराएको  उहाँले बताउनुभयो ।

निर्वाचनलाई सफल पार्नका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न कुनै कसर वाँकी नराखिएको प्रनाउ खड्को भनाइ थियो ।  मोटरसाइकलका साथै हाल उपलब्ध प्रहरीको गाडीबाट पनि जिल्लाभर गस्ती सुरु गरिएको छ । अप्ठ्यारो भूगोलका कारण  उपलब्ध साधनले केही स्थानहरुमा पुग्न संभव नहुने भएकाले थप साधनको माग गरिएको उहाँले बताउनुभयो । साथै निर्वाचनका समय  नेकपा (विप्लव) बाट हुन सक्ने निर्वाचन विरोधी क्रियाकलापका वारेमा पनि प्रहरी सचेत रहेको उहाँको भनाई थियो ।