खवाङमा खानेपानी आयोजना निर्माण

  • २७ पुष २०७५, शुक्रबार
  • 2422 पटक पढिएको

बेनी २७ पुष । म्याग्दीको मालिका गाउँपालिका २ खवाङमा खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । फिनल्याड सरकार र गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

३६ लाख ७० हजार २८ रुपैयाँको कुल लागतमा निर्माण भएको आयोजनाबाट ५५ घरधुरी लाभान्वित भएका मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । खवाङको सामुदायिक विद्यालयमा पनि धारा निर्माण गरेर खानेपानी उपलब्ध गराइएको छ । मिटर जडित निजी धारा निर्माण गरेर घरघरमा खानेपानी वितरण गरिएको हो । यसअघि सार्वजनिक धारा, पँधेरा र मुहानको पानी उपभोग गर्दै आएका खवाङबासीलाई घरघरमा खानेपानी आउन थालेपछि सुबिधा र समयको बचत भएको छ ।

एक वर्षअघि निर्माण सुरु भएको आयोजना सम्पन्न भएपछि बिहीबार उपभोक्ता समितिको आयोजनामा सामाजिक परिक्षण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष नरबहादुर पुन, परियोजनाका खानेपानी तथा सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट लगायतको उपस्थितीमा सार्वजनिक परिक्षण गरिएको हो ।