म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु

  • २६ पुष २०७५, बिहीबार
  • 1378 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, पुस २६ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।


तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । उनले परिवर्तित सन्दर्भमा स्थानीय तहहरुले आफ्नो बजेट विनियोजन र कार्यक्रम सञ्चालन गर्नुपूर्व विकासको आवश्यकताको पहिचान गरेर लगानी गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय र व्यवहारीक शिक्षाका लागि अनुसन्धान जरुरी रहेको उनको भनाइ छ ।


शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विश्वविद्यालय स्तरमा सञ्चालन हुने तालिम तथा गोष्ठीलाई विद्यार्थीको तहसम्म पु¥याउन आवश्यक रहेको बताएका थिए । बेनी नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराईलीले क्याम्पसको गुणात्मक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै शैक्षिक उन्नयनका लागि अनुसन्धानमा जोड दिनुपर्ने बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी जिल्ला पुँजी निर्माणको चरणमा नभई परिचालनको अवस्थामा रहेकाले अब पुँजीको निर्माणतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

उनले जिल्लाको शैक्षिक अवस्था र विभिन्न समस्याहरुको विषयमा छलफल चलाइएको भन्दै प्राध्यापकहरुको क्षमता अभिवृद्धि र क्याम्पसको विकासका लागि सञ्चालक समिति लागिपरेको बताए ।  कार्यक्रममा तालिमका प्रशिक्षक मनबहादुर खत्री, बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले मन्तव्य राखेका थिएभने क्याम्पसको क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रम सञ्चालक समिति अध्यक्ष सुवेदीको अध्यक्षता, क्याम्पस प्रमुख टिकाराम सापकोटाको स्वागत र प्राज्ञिक सोच, अनुसन्धान तथा प्रकाशन उपसमिति संयोजक भोलानाथ घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी एक हप्तासम्म चल्ने अनुसन्धानमूलक तालिममा ३० जनाको सहभागिता रहेको क्याम्पसले जनाएको छ ।