मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन र सडक क्षेत्रअधिकार कायम

  • २५ पुष २०७५, बुधबार
  • 272 पटक पढिएको

म्याग्दी २५ पुष । जिल्लाको मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न  चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको थियो ।

वित्तिय समानिकरणतर्फ कूल १४ करोड ४८ लाख ४५ हजार रुपैयाँ बजेटलाई संसोधन गरेर चालु तर्फ चार करोड ९८ लाख १५ हजार ४५२ र पुजीगततर्फ नौ करोड ९० लाख ३३ हजार रुपैयाँ बिनियोजन गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए । यसअघि गत असारको गाउँसभाले समानीकरणको पुजीगततर्फ सात करोड ८० लाख २५ हजार रुपैयाँ बिनियोजन भएकोमा आर्थिक वर्षको करिब छ महिनाको अवधिमा ३४ लाख ८८ हजार २८० रुपैयाँ खर्च भएको छ ।

गाउँसभाले मंगला गाउँपालिका भित्रका सडकको क्षेत्राधिकार पनि कायम गरेको छ । क, ख, ग र घ बर्गमा सडकलाई बर्गीकरण गरेर क्षेत्राधिकार कायम गरिएको हो । क वर्गमा पर्ने सिम–टाड्के, पुल्चोक–पोक–देउराली, पखेर–झाँक्रेपानी र पुल्चोक–छिस्वाङ–खोप्टी सडकको क्षेत्राधिकार १३ मिटर कायम गरिएको छयसैगरी ख बर्गमा सूचिकृत भाईवाङ–हिदी, सातबिसे–बरंजा–बुकेनी, सिमलचौर–टोड्के, मुहानेखोला–पाखु–धारा–सिर्कुम–टिकावाङ सडकको क्षेत्राधिकार ११ मिटर कायम भएको छ । ग वर्गका सडकको ९ र घ वर्गका बजारका भित्री गल्लीको सडकको क्षेत्राधिकार ६ मिटर कायम गरिएको छ । सबै सडकको डेढ मिटर सेटब्याक छाड्नुपर्ने भएको छ ।

गाउँसभामा कृषि शाखाका जगत बानियाले प्रस्तुत गरेको २५ लाख रुपैयाँ बराबरको र पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्काले प्रस्तुत गरेकोे २३ लाख ४५ हजार रुपैयाँ बराबरको कृषि र पशु सेवा शाखाले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरु स्विकृत गरिएको छ।सभालाई सम्बोधन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले कर्मचारीले जागिरे मानसिकता त्याग्नुपर्ने र जनप्रतिनिधिले कर्मचारीको जस्तो ब्यवहार देखाउन नहुने बताउँदै योजना तथा कार्यक्रमहरु सफलतापूर्वक प्रभावकारी र पारदर्शी हिसाबले कार्यान्वयन गर्नुपर्ने बताए ।

उपाध्यक्ष सिर्जना केसीले केही कर्मचारीहरुले गाउँपालिकालाई असफल बनाउन असहयोग गरिरहेको बताउँदै बिधि र प्रक्रिया अनुसार भएको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताईन ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बजेट संसोधन भएपछि सुत्र सफ्टवयरमा राखेर कार्यान्वयनमा सहजता हुने अपेक्षा व्यक्त गरे । गाउँसभाको सहजिकरण सूचना अधिकारी राजेन्द्र आचार्यले गरेका थिए । गाउँसभामा सहभागि सदस्यहरुले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका थिए ।