गाउँलेले खने ८ किलोमिटर सडक

  • ३० चैत्र २०७३, बुधबार
  • गोपाल छन्त्याल
  • 3973 पटक पढिएको

म्याग्दी , ३० चैत । प्रसंग, २०६७÷०६८ सालको हो । बेनी–बरंजा हुदै झाक्रेपानी कृषि सडक खुल्ने योजना बन्यो, जिल्ला विकास समितिमा । आफ्नो गाउँलाई सडकले नछुने भएपछि महेश–धापुङबासीले जिविस र गाविसमा निरन्तर दबाब दिए । तर, दुबै निकायबाट उनीहरुको त्यो माग सुनुवाई हुने अवस्था आएन् । तैपनि हिम्मत हारेनन्, धापुङबासीले । अहिले गाउँसम्मै सर्रर गाडी गुड््छ । यो कसरी संभव भयो ? महेश–धापुङका अगुवा प्रेम चोचाङ्गी भन्छन्, ‘हामीलाई जसरी पनि गाउँसम्म बाटो चाहिएको थियो । कतैबाट सहयोग नपाउने भएपछि हामीले प्रतिघर ५ हजार रुपैयाँका दरले चन्दा उठाउने र श्रमदान गर्ने निर्णय ग¥र्यौँ । सोही अनुसार बाटो खन्यौ ।’ बरंजाको केन्द्र दहबाट कृषि सडक झाक्रेपानी सोझिन्छ ।
धापुङबासीले त्यहीबाट सामूहिक लगानीमा ८ किलोमिटर सडक खनेर गाउँसम्म सडक पु¥याएका हुन् । बाटो खन्न गाउँका युवाहरु राती दुई बजेसम्म खटिएको र महिलाहरुले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरेको अगुवा चोचाङ्गीको भनाई छ । ‘यो सडकमा सरकारी पैशा भने छदै छैन्, बाटो बनेपछि गाउँसम्मै गाडी आईपुग्छ । मर्दापर्दा हामीलाई धेरै सहज भएको छ’, उनले भने । अहिले मंगला गाउपालिका–५ पर्ने महेश–धापुङमा १०९ धरधुरी बसोवाश छ । मगर समुदायको बाहुल्य बसोवाश रहेको गाउँ सम्म सडक ल्याउन प्रवासमा रहेका स्थानीय युवाहरुले पनि उत्तिकै सहयोग गरेका छन् ।
‘गाउँसम्म सडक ल्याउन सरकारले सहयोग नगरेपछि, यो कुरा प्रवासमा रहेका दाजुभाई पनि भन्यौँ । कतार, साउदी अरब, मलेसिया लगायतका देशबाट ५ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ’, स्थानीय युवा उमेश विकले भने, ‘गाउँको एकताले नै यो संभव भएको हो । सरकारको मुख ताकेर मात्र हुदैन् । त्यशो गरिएको भए अझै दश बर्ष लाग्न सक्थ्यो गाउँमा गाडी चल्न ।’ महेश–धापुङ भौगोलिक हिसाबले बरंजा क्षेत्रकै दुर्गम मानिन्छ तर, तरकारी, आलु र सुन्तला उत्पादनका दृष्टि यो पकेट क्षेत्र हो । गाउँसम्म सडक पुगेपछि सबैभन्दा सहज यहाँका गृहिणी र व्यवसायिक किसानहरुलाई भएको छ । धापुङकै लागि भनेर बेनीबाट दैनिक रुपमा जीप छुट्छ । गाउँमा उत्पादित सुन्तला, सिमी, तरकारी नियमित रुपमा बजार निर्यात हुन्छ ।
‘बजारबाट समान र यहाँको तरकारी बजार पठाउन हामीले समस्या छैन । पहिला भोकेरै बजार लैजाँदा कुहिने डर हुन्थ्यो, बिक्री पनि हुन्थेन्’, महेशका अगुवा महिला नरमायाँ पुनले भनिन् । धापुङबासीको चाहना अब बागलुङको अर्गल सम्म सडक जोड्नु र खनेका सडकलाई फराकिलो बनाउनु हो । ‘त्यसका लागि योजना पनि बनाएका छौँ तर, अब सरकारले पनि हेरिदिनुप¥यो’, स्थानीय युवा उमेशको माग छ । तत्कालीन बरंजा गाविसका सचिब गोविन्द जिसीले दुई गाउँका स्थानीयले आफ्नै पहलमा सडक बनाएको बताए । ‘मर्मतसम्भार गाउलेले नै गरिरहेका छन् । सडकको स्तर पनि राम्रो छ’, अहिले गाउँपालिका अन्र्तगत वडा सचिब रहेका जिसीले भने, ‘स्थानीय तह कार्यान्वयनमा आएको छ, बजेटको आकार पनि बढ्छ, अब उहाँहरुको माग सुनुवाईका लागि पहल हुनेछ ।’

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l