नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा म्याग्दीका श्रेष्ठ बिजयी

  • २९ चैत्र २०७३, मंगलवार
  • 2509 पटक पढिएको

म्याग्दी, २९ चैत । नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष पदमा म्याग्दीका व्यवसायि प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । महासंघको काठमाण्डौमा मंगलवार सम्पन्न भएको ५१ औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट श्रेष्ठ जिल्ला तथा नगर उद्योग बाणिज्य संघको तर्फबाट उपाध्यक्ष पदमा बिजयी हुनुभएको हो ।


श्रेष्ठले कुल ५३ मत ल्याएर बिजयी हुनुभएको निर्वाचनस्थलमा रहनुभएका म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सुविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्ला तथा नगर उद्योग बाणिज्य संघको उपाध्यक्ष चयनको लागि खसेको १०३ भोटमध्ये श्रेष्ठले ५३ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँका प्रतिद्धन्द्धी कोहलपुर उद्योग बाणिज्य संघका दिनेश श्रेष्ठले ४८ मत ल्याउनुभएको छ ।  उहाँको बिजयीले समग्र म्याग्दी र धौलागिरीको शिर उचो बनाएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले प्रतिकृया दिनुभयो । उहाँले श्रेष्ठलाई बिजयी गराउन मतदान गर्ने सबैलाई धन्यबाद ज्ञापन समेत गर्नुभएको छ ।
महासंघको धौलागिरी अञ्चल प्रतिनिधि हुँदै दुई कार्यकाल नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य समेत रहिसक्नुभएका श्रेष्ठ म्याग्दी उद्योग बाणिज्य संघको तर्फबाट जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
म्याग्दी उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायि भूमिका निर्वाह गरिसक्नुभएको छ भने जिल्लामा जलविद्यूतमा लगानी भित्र्याउने अभियानमा सक्रिय हुनुहुन्छ । यसैबिच प्रदेश नम्बर ४ को सदस्यमा बागलुङका निर्माणकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।