रघुगंगाको मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

  • २१ पुष २०७५, शनिबार
  • 3279 पटक पढिएको

म्याग्दी, २१ पुस ।  म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा आधारभुत प्राथमिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको वडा नम्बर ३ का अध्यक्ष एवम गाउँपालिका कार्यपालिकाका प्रवक्ता जिवन बहादुर मल्लले बताउनुभयो ।

इकाइलाई व्यवस्थित बनाउन थप उपकरण, पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न पहल गरिएको वडा अध्यक्ष मल्लले जानकारी दिनुभयो । स्थानीय पवित्र आमा समुहले निर्माण गरेको गाउँघर क्लिनिक भवनमा यसै सातादेखि स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको छ । मौवाफाँट संगै चार ठाउँमा सञ्चालनमा ल्याईएको सामुदायिक स्वास्थ्य इकाइमा गाउँपालिकाले एक÷एक जना अहेब र कार्यालय सहयोगी करारमा नियुक्त गरि सेवा सुचारु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिका बहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरमिजामा सञ्चालनमा ल्याईएको सामुदायिक स्वास्थ्य इकाइको औपचारिक रुपमा उद्घाटन गरिएको छ भने अन्य तीन ठाउँको सेवालाई समेत छिट्टै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ । वडा कार्यालयको समन्वयमा समुदाय स्तरबाट पूर्वाधारको व्यवस्थापन गरि सञ्चालनमा ल्याईएको नयाँ सामुदायिक स्वास्थ्य इकाइमा गाउँपालिका र वडाले औषधी, सामाग्री तथा उपकरणको खरिद गरि औषधी उपचारको बन्दोबस्त मिलाईएको छ । सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन भएपछि विरामीहरु उपचारको लागि आउन थालेको मौवाफाँट स्थित स्वास्थ्य इकाइकी अहेब एलिना गर्वुजाले जानकारी दिनुभयो ।

आगामी बर्ष वडा १ को बाँदुक, २ को राममन्दिर, ७ को पात्लेखर्कमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनको लागि समेत आबश्यक तयारी थालिएको गाउँपालिकाका स्वास्थ्य उप–संयोजक शिब प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाले राहत मिलेको स्थानीय पवित्र आमा समुहका अध्यक्ष कमला केसीले जानकारी दिनुभयो । यस अघि सामान्य उपचार सेवा लिन पनि घण्टौ हिँडेर जानुपर्ने बाध्यता रहेपनि अहिले स्वास्थ्य इकाई सञ्चालनमा आएपछि राहत मिलेको उहाँले बताउनुभयो ।