रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

  • २० पुष २०७५, शुक्रबार
  • 2320 पटक पढिएको

मौवाफाँट २० पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले ग्रामीण भेगमा लुकेर रहेका समस्या र सम्भावनाहरुको उजागर गर्न स्थानीय तहमा पत्रकारीताको आबश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले जिल्लाको पत्रकारीता क्षेत्रको विकासको लागि मिडिया सोसाईटी र पत्रकार महासंघसंगको सहकार्यलाई गाउँपालिकाले जोड दिएको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले संघिय संरचना अनुसार हरेक स्थानीय तहमा पत्रकारीताको पहुँच बढाउनको लागि महासंघले अभियान सञ्चालन गरेको बताउँदै नयाँ पत्रकार उत्पादनमा तालिम सहयोगी बन्ने बताउनुभयो ।

तालिममा सहभागी गुन पुन र कृष्णकला सुवेदीले स्थानीय स्तरमा हुने गतिविधि र घटनाहरुलाई सञ्चार माध्ययममा पु¥याउनको लागि तालिमले रचनात्मक सहयोग पुग्ने बताउँदै पत्रकारीतार्फ लाग्न तालिमले प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलिजा, सोसाईटीका अध्यक्ष कमल खत्री र महासंघका अध्यक्ष शर्माले सहमागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ग्रामीण पत्रकारीताको विकासमा टेवा पु¥याउने गरि कार्यक्रम आयोजनामा आर्थिक सहयोग गरेकोमा मिडिया सोसाईटीले गाउँपालिकालाई धन्यबाद पत्र समेत प्रदान गरेको थियो । तालिममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रदेश सदस्य सन्तोष गौतम, शाखा उपाध्यक्ष ठाकुर आचार्य, सचिव गोरखनाथ सुवेदी, म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव अमित विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।

सोसाईटीका अध्यक्ष खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो । विहिवार गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले उद्घाटन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले गाउँपालिकाको प्रगति अबस्थाबारे जानकारी गराउँदै राज्यको निगरानी, सुशासन, जनताको अधिकार र सूचना पाउने अधिकारको सुनिश्चितताका लागि सेवा प्रवाहलाई सरलीकरण बनाउन लागिपरेको जानकारी गराउनुभएको थियो ।